
राजीव गुरुङ अर्थात् दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएको आइतबार ६० दिन पुगेको छ ।
भ्रष्ट्राचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको दुई महिनाभित्र उनले सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने हो । तर, मन्त्री मनाङेले अटेरी गरिरहेका छन् ।
तेस्रो पटक मन्त्रालय सम्हालेको ६० दिन पुगेको अवसरमा आइतबार उनले पत्रकार सम्मेलन राखेका थिए । त्यस क्रममा मन्त्री मनाङेले ६० दिनमा आफूले गरेको काम र आगामी योजना सुनाए । कार्यक्रमको अन्तिममा सोधियो, ‘सबै मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरिसके । तपाईंले किन गर्नुभएन ?’
मन्त्री मनाङेले सम्पत्ति सार्वजनिक गर्न खोजे पनि आफूसँग के छ ? के छैन भन्नेबारे नै ‘कन्फ्युज’ भइरहेको जवाफ फर्काए । ‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु । मेरो के छ ? के छैन ? जम्मै पहिलेको श्रीमती, छोराछोरीको नाममा राखिदिइसकेको छु । मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन्,’ उनले भने ।
मन्त्री मनाङेले ‘केटा’हरुलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट पनि सम्पत्ति फिर्ता नआएको बताए । ‘पहिले बिजनेस गर्दा केटाहरुलाई लगानी गरिदिएको छु । धेरै यस्तो पैसा छ, जुन मसँग आएको छैन,’ उनले भने, ‘आउनेवाला छ भनेर लेख्न पनि गाह्रो ! मेरो नाममा केही छैन ।’