मंगलबार , बैसाख २९, २०८३

पटकपटक स्थगित हुँदै लामो समयपछि बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सुनिलबहादुर थापालाई सहमहामन्त्रीमा मनोनित गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका थापालाई सहमहामन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यसैगरी उनीसँगै कांग्रेस प्रवेश गरेका ६ नेतालाई केन्द्रीय सदस्य र ३ नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय भएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय सदस्यमा रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टिएन योगी मनोनित भएका हुन । त्यसैगरी आमन्त्रित सदस्यमा दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह मनोनित भएका छन् ।

स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर साउन १३ गते कांग्रेसमा प्रवेश गरेका थिए ।

सुनिल थापा दोस्रो संविधान सभाको चुनावमा धनकुटा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । थापा चुनावमा विजयी भएर दुई पटक मन्त्रीसमेत भइसकेका छन् ।

दोस्रो संविधान सभाको चुनाव पछि ज्येष्ठ नागरिकको हैसियतले संविधान सभाको सभामुख उनकै बुवा सूर्यबहादुर थापा भए। बुवा सँगै पार्लियामेन्टमा छिरेका थापाले उनी मन्त्रीहुँदा बुवाबाटै शपथ लिए । सुनिल सुशील कोइराला नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री भए। यस्तै उनी शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भए।

राजनीतिमा आउनुअघि थापाले २२ वर्ष शरणार्थी विकास र मानवीय सहायताका लागि काम गरे । उनले ११ वटा द्वन्द्वग्रस्त देशमा काम गरिसकेका छन् । सन् २०११ मा राष्ट्र संघीय उच्च आयोग (यूएनएचसीआर) अन्तर्गत सुडानमा कार्यरत रहेको बेला देशको सेवा गर्न राष्ट्र संघअन्तर्गतको आकर्षक जागिर छोडेर राजनीतिमा हाम्फालेका हुन । राजनीतिमा प्रवेश गरेसँगै उनले आफ्नो अनुभव देश विकास र निर्माण कार्यमा लगाउने बताउँदै आएका छन् ।

थापा वाणिज्ज तथा आपूर्तिमन्त्री हुँदा नेपाल आयल निगममा ‘अटो प्राइसिङ’ र भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनको सम्झौता गरेका कारण उनको कामको चर्चा भएको थियो ।

थापाले राष्ट्रसंघीय उच्च आयोगबाट जागिर छोडेर आएपछि सन् २०१२ देखि २०१५ सम्म बुवा संगै बसेर राजनीति गरे। उनका बुवा सूर्यबहादुर थापाको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा २०७२ वैशाख २ गते निधन भएको थियो। उनका बुवा धनकुटा जिल्लाको मुगामा जन्मिए थिए। सूर्यबहादुर ४ पटकसम्म नेपालको प्रधानमन्त्री बनेका थिए ।

कांग्रेसमा प्रवेश गर्नुअघि राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई थापासहित ३१ जनाले राजीनामा बुझाएका थिए।

त्यसैगरी कांग्रेसले स्वर्गीय सूर्यबहादुर केसीको स्थानमा मोहनप्रसाद पाण्डेलाई सांसद बनाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभाका समानुपातिक तर्फका सदस्य केसीको निधन भएपछि रिक्त स्थानमा पाण्डेलाई पठाउने निर्णय भएको हो ।

पार्टी निर्णय कार्यान्वयनका लागि निर्वाचन आयोगमा पत्र पठाउने निर्णयसमेत कांग्रेसले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP