
महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर भएको भनिएको घटनाबारे छानबिन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित महाकाली नदीमा तुइन चुँडिएर स्थानीय जयसिंह धामी बेपत्ता भएका थिए ।
सो घटना छानबिन गर्न बनेको सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।
समितिले लामो समयसम्म प्रतिवेदन नबुझाएको भन्दै आलोचना हुँदै आएको थियो । प्रतिवेदनमा के विषय उल्लेख छ भन्नेबारे तत्काल केही खुलाइएको छैन ।
समितिमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य थिए ।
गत साउन १७ गते गठित समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो ।
छानबिन नसकिएको भन्दै मन्त्रालयले ३ पटक म्याद थप गरेको थियो ।
टोलीले दार्चुला पुगेर स्थलगत रूपमा घटनाको अध्ययन गरी फर्किएको थियो । सो क्रममा टोलीले राजनीतिक दल, सरकारी अधिकारी, पत्रकार, स्थानीय, पीडित परिवार, जनप्रतिनिधिसँग छलफल गरेको थियो भने खोजबिनका सिलसिलामा बैतडी, कञ्चनपुर समेत पुगेको जनाइएको छ ।
साउन १५ गते धामी बेपत्ता भएका थिए । पीडित पक्ष तथा स्थानीयले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका लगाउँदै आएका छन् ।