नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब आफूहरु सरकारमा जाने बताएका छन् । आज बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।
छुट्टै दलको हैसियत पाइसकेको भन्दै अब शेरबहादुर नेतृत्वको सरकारमा जान कुनै समस्या नभएको पनि नेपालले बताए । ‘अब सरकारमा जान्छौँ, पाँच दलीय गठबन्धन पनि अघि बढ्छ,’ उनले भने, ‘सरकारमा गएर काम गर्न अब बाटो खुलेको छ ।’
नेपालले आफूलाई छाडेर केपी ओलीतिर गएका सहयोद्धाहरु फेरि फर्कनसक्ने बताए । उनले भने, ‘आज सहयोद्धाहरुमध्ये कतिपय मेरो साथमा छैनन् । २०३२ सालका कति सहयोद्धाहरु अहिले साथमा छैनन् । त्यसपछिका कति सहयोद्धाहरु अहिले साथमा छैनन् । फेरि ती सहयोद्धाहरु यात्रामा समावेश हुन सक्नुहुन्छ ।’
पार्टी विभाजनको अन्तिम समयमा साथ छाडेका १० नेताप्रति लक्षित गर्दै नेपालले भने, ‘ती सहयोद्धाको बारेमा मैले गुनासो गर्नुपर्ने केही छैन् ।’