
नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । माधव नेपालको नेतृत्वमा उक्त दल दर्ता भएको हो । आयोगले दलको प्रमाणपत्र आजै दिने तयारी गरेको छ । माधव नेपालको दलमा हस्ताक्षर गर्न पुगेका सोमप्रसाद पाण्डेको हस्ताक्षर भने आयोगले सनाखत गरेन । दल विभाजनको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको दिन पाण्डेको हस्ताक्षर नभएकोले आयोगले आज उनको हस्ताक्षर सनाखत गरेन ।
रोचक त के भने पाण्डे माधव नेपालका सम्धी हुन् । लामो समयसम्म नेता पाण्डेले सम्धीसमेत रहेका माधव नेपाललाई साथ दिएका थिए । तर, दल विभाजनको लागि भने उनले नेता नेपाललाई साथ दिएनन् । कतिपयले भने आज पाण्डेले दोहोरो चरित्र देखाएको पनि टिप्पणी गरेका छन् । उनी आफ्नो सनाखत नहुने थाहा पाउँदा पाउँदै पनि माधव नेपालको पार्टीमा सनाखत गर्न आयोग गएको बताईएको छ ।