नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् । तर, उनीहरूको चेतावनीको जवाफ ओली पक्षीय नेताले चेतावनीकै शैलीमा दिन थालेका छन् ।
पार्टी एकताका लागि तेस्रो धारका ‘५७ भाइ’ ले पार्टी एकताका लागि मंगलबारसम्मको अल्टिमेटम दिएको भए पनि अध्यक्ष ओली एक्लै अगाडि बढ्न खोजेको उनीहरूको बुझाइरहेको छ । अध्यक्ष ओलीले मंगलबारभित्र १० बुँदे सहमति कार्यान्वयनका लागि चित्तबुझ्दो जवाफ नदिए आफूअनुकूल निर्णय गर्न स्वतन्त्र रहेको बताइरहँदा नेतृत्व पंक्ति भने त्यसतर्फ गम्भीर नरहेको उनीहरूको बुझाइ छ ।