
सत्ता साझेदार माओवादी केन्द्रले पार्टी नेताहरूको कार्य विभाजनसम्बन्धि छलफल सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।
आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्य विभाजन, आगामी ११, १२ र १३ पुसमा आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘सांगठनिक कतिपय विषयको बारेमा निर्णय लिन केन्द्रीय कमिटीले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । केन्द्रीय कमिटीको रिक्त पदपूर्ति गर्ने कि नगर्ने ? प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्ने? केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने विषयमा स्थायी कमिटीले निर्णय लेओस भनेर केन्द्रीय समिति बैठकले निर्देशन दिएको थियो । आजको बैठक मुख्यरुपमा यही विषयमा केन्द्रित थियो । र भोलि विहान ११ बजे बस्ने बैठकले त्यसबारेमा आवश्यक निर्णय लिनेछ । त्यसको साथसाथै हामी ११, १२ र १३ पुसमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नविकरण, वितरणदेखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरु तय गरेको सन्दर्भमा हाम्रो निर्वाचन आयोगले निर्वाचन निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरू निर्माण हुने भएकाले निर्वाचन निर्देशिका तल पठाउने बारेमा पनि आजको बैठकमा एजेन्डा थियो । भोलि बस्ने बैठकले आवश्यक निर्णय लिनेछ ।’