शनिबार , भाद्र १३, २०८३

लुम्बिनी प्रदेशमा दुई सांसदलाई पदबाट हटाउने विषय झन् पेचिलो बन्दै गएको छ । सरकार मन्त्रीसमेत बनेका विना विभागीय मन्त्री अजय शाही र उपनिर्वाचनमा नेकपाबाट चुनाव जितेकी विमला खत्री वलीको विषयलाई लिएर सत्ता पक्ष र विपक्षी एमालेबीचको द्वन्द्व झन् बढ्दै गएको छ ।

शाही र वलीले सूर्य चिन्ह लिएर चुनाव जितेकाले पार्टीले गरेको कारबाही मान्दै सभामुखले हटाउनु पर्ने माग एमालेको रहेको छ । सोही  माग लिएर  निरन्तर  दुई दिन सदन अवरुद्ध गरेको थियो । एमालेले अहिले पनि सोही अडान कायम रहेको नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले  बताए । उनले विधि र कानुन सम्मत नचलेसम्म प्रदेश सभा अवरुद्ध गर्ने बताएका हुन् ।

उनले सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी  चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउँदा पनि सभामुखले राजनीतिक पूर्वाग्रह राख्दै कारबाही नगरेको आरोप लगाए । उनले सभामुखले दलको कार्यकर्ता जस्तो काम गर्न नहुने भन्दै तत्काल कारबाहीको सूचना टाँस गर्नुपर्ने माग गरे ।

नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विना विभागीय मन्त्री अजय शाहीले भने आफू स्वतन्त्र भएको दाबी गरेका छन् । उनले नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्कासन गर्न कारबाही प्रक्रिया अगाडी बढाएको कुरा कानुनी र राजनीतिक रूपमा कुनै औचित्य नरहेको बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले निर्वाचनमा हृदयेश त्रिपाठीको नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सूर्य चिन्हको प्रयोग गरी स्वतन्त्र रूपमै चुनाव जितेको दाबी गरे । शाहीले  राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार एमाले संसदीय दलको सदस्य नभएको स्पष्ट पारेका छन् ।

विमला खत्री वलीले यस अघि नै पत्रकार सम्मेलन गरेर  आफू उप निर्वाचन विजेता बनेकाले त्यति बेला नै माओवादी रोजेको बताएकी छन् ।

कानूनविद महेन्द्र पाण्डेले अजय शाही हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबाट चुनावमा तत्कालीन नेकपासँग तालमेल गरेर निर्वाचित भएको तर हैसियतका हिसाबले र सहमतिका बुँदाको हिसाबले स्वतन्त्र रहेको बताए । उनले स्वतन्त्र हैसियतबाट उठेकाले एमालेसँग कुनै नाता र साइनो नभएकाले व्यवहारिक तथा कानुनी हिसाबले एमालेले दाबी गर्न नमिल्ने तर्क गरे । यस्तै उनले बाम गठबन्धनबाट चुनाव जितेकी सांसद विमला वलीले आफ्नो दल रोज्ने अधिकार संविधानले दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP