
कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो ।
कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय यसको छैन । तथापि कोभिड लागेर ज्वरो, रुघाखोकी आएको खण्डमा सिटामोलको प्रयोगलाई चिकित्सा क्षेत्रले पनि प्रभावकारी उपायका रूपमा लिँदै आएको छ । यतिबेला बजारमा सिटामोल सहज रूपमा नपाइँदा सर्वसाधारण समस्यामा परेका छन् । गुर्जुधाराकी सविना श्रेष्ठले भने, “पाँचवटा पसल चहारेपछि बल्ल बल्ल छैटौँ पसलमा सिटामोल एकपत्ता पाइयो ।” उहाँलेजस्तै सरोज उपकारेटीले पनि भाइलाई ज्वरो आएपछि बजारमा सिटामोल खोज्दा नपाएर वीर अस्पताल नै आउनुपरेको बताए ।