प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । उनले मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नराख्ने अडान लिएका छन् । तर, नेपाली काँग्रेस, नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु मन्त्रीका आकांक्षी बनेपछि देउवामाथि उपप्रधानमन्त्री बनाउन दबाब परेको छ ।
काँग्रेसबाट पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालालाई सरकारमा लाने तयारी भएको छ । कोइराला परिवारले उनको नाम सारेको छ । विगतमा उपप्रधानमन्त्री भइसकेकी सुजातालाई उपप्रधानमन्त्री बनाउन देउवालाई दबाब छ । सुजातालाई रोक्न पनि उपप्रधानमन्त्री नबनाउने देउवाको रणनीति हुनसक्ने चर्चा छ ।
नेकपा एमाले समाजवादीबाट बामदेव गौतमको नाम अगाडि सारिने भएको छ । गौतमले आज मात्र माधव नेपाललाई साथ दिने घोषणा गरिसकेका छन् । उनलाई सरकारमा पठाउनेबारे माधव नेपाल पनि सकारात्मक भएको बुझिएको छ । तीनपटक उपप्रधानमन्त्री भइसकेका बामदेव मन्त्री मात्र बनेर सरकारमा जाने सम्भावना नहुन सक्छ । त्यसैले पनि देउवामाथि उपप्रधानमन्त्री बनाउने दबाब छ ।