
एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ ।
नेपाल सहभागी समूह ‘एफ’ को खेल नेपालमा सञ्चालन हुने भनिए पनि अन्तिममा आएर कोरोनो महामारीका कारण उज्वेकिस्तानमा सारिएको थियो । उक्त समूहको शीर्ष स्थानमा रहने टोली आगामी वर्ष भारतमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछ । एसियन कप छनोटका तयारीका लागि २८ महिला खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । सो टोलीलाई मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षण दिइरहेका छन् ।