मंगलबार , बैसाख २९, २०८३

अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले सुरक्षा दिइरहेका छन् ।

अमेरिकी दूतावासमा कार्यरत एक नेपालीले काबुलबाट दिएको जानकारीअनुसार उनीहरूलाई अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउन सकिने भनेको छ । ‘यहाँको पछिल्लो अवस्था बिग्रिएको छ, धेरै अमेरिकी सेना फिर्ता भइसकेका छन्, हामीलाई फर्कन तयार भएर बस्न भनिएको छ, फिर्ता हुने दिन भने तोकिएको छैन,’ दूतावासमा कार्यरत एक नेपाली सुरक्षा गार्डले भने ।

अमेरिकाले दुई दशकपछि सुरक्षाकर्मी फिर्ता लगेपछि अफगानिस्तान विद्रोही समूह तालिवानको घेरामा छ । त्यही विषयलाई मध्यनजर गरेर आफूहरूलाई अमेरिकी दूतावासले फिर्ता पठाउन लागेको ती नेपाली सुरक्षाकर्मीले बताए । यसअघि नै अमेरिकी सेनाका लागि काम गर्ने फ्लोर कम्पनीले आफूसँग भएका ‘सिभिलियन’ कामदारहरूलाई फर्काइसकेको छ । जसमा झन्डै १ सय ५० जना नेपाली थिए । उनीहरूलाई कम्पनीले दुबई लगेर राखेको छ । ‘हामी काबुलबाट दुबई आएर होटलमा बसेको एक साता भयो,’ १० वर्षदेखि फ्लोर कम्पनीको व्यवस्थापनमा काम गरेका एक नेपालीले भने, ‘टिकट पाउने साथीहरू नेपाल पुगिसकेका छन् । टिकट नपाउनेहरू होटलमै बसिरहेका छौं ।’

फ्लोर कम्पनीले जुलाई अन्तिमदेखि नै कार्यालय सहयोगी, प्रशासनिक कर्मचारी, ड्राइभरजस्ता क्षेत्रमा कार्यरत नेपालीलाई काबुलबाट बाहिर निकालिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा नेपालीहरू अमेरिकी दूतावास, युरोपेली संघ, राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा कार्यरत छन् ।

उनीहरूलाई त्यहाँ पुर्‍याउने कम्पनीहरू एईजीआईएस एलएलसी, पेज प्रोटेक्सन सर्भिस, इन्टरनेसन डिपार्टमेन्ट अफ गोर्खा, सेवर इन्टरनेसनल, हार्ट, जिफोरएस र सिल्ड सेक्युरिटीलगायत हुन् । यी कम्पनीहरूले भने नेपाली सुरक्षा गार्डलाई उच्च सतर्कतामा राखिएको जनाएका छन् ।

‘विमानस्थल र दूतावासहरूको सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्ड काबुलमै छन्,’ ती नेपालीले भने, ‘उनीहरूमाथि सुरक्षा खतरा परेमा सम्बन्धित दूतावासले नै तत्काल उद्धार गर्ने सूचना दिइएको छ । त्यसकारण उनीहरू ढुक्क भएर बसिरहेका छन् ।’ विमानस्थल र दूतावासका कूटनीतिज्ञ तथा कर्मचारीको सुरक्षामा खटिएका नेपालीको जिम्मेवारी रोजगारदाता कम्पनीले लिने नेपाली सुरक्षा गार्डहरूले बताए । ‘हामीलाई यहाँ जुन कम्पनीले खटाएको छ, त्यही कम्पनी र दूतावासले जिम्मेवारी लिनुपर्छ, अहिलेसम्म हामी आत्तिएका छैनौं । कम्पनीहरूले आपत्कालीन अवस्था आइपरेमा तुरुन्तै काबुल छोड्नुपर्ने भनेर सतर्क गराएका छन्,’

यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP