मंगलबार , बैसाख २९, २०८३

नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो ।

स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ । नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्षित रूपमा रहेको उहाँले बताउनुभयो । गाडी जाने ठाउँसम्म गाडी र त्यसपछि तीन दिन पैदल हिँडेर ३ नम्बर सीमा स्तम्भसम्म पुगेको बताउँदै उहाँले पाँच हजार १०८ मिटर अग्लो स्थानमा रहेको सीमा स्तम्भमा पुग्न निकै कठिन रहेको बताए ।

उहाँका अनुसार सीमा स्तम्भ पुग्ने क्रममा टोलीले कतै पाटन, कतै उकालो, भीरपाखा छिचोल्नु परेको थियो । टोलीले पाँच हजार दुई मिटर अग्लो स्थानसम्म चढ्नुपरेको थियो । सशस्त्रको हेडक्वाटर रहेको सदरमुकाम सिमकोटको ४४ नम्बर गुल्मबाट नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारीसम्म कर्णाली करिडोरको सडक हुँदै गाडीमा पुगेको टोली पहिलो दिन उतै बास बस्नुपरेको थियो । सीमा स्तम्भ अनुगमनको जिम्मा पाएको टोलीले त्यसको पछिल्लो दिन नेम, ह्याङ्सी हुँदै घी खर्कमा दोस्रो बास बसेको थियो ।

तेस्रो दिन याङ्जो पोखरी, चिलिमे भञ्ज्याङस्थित ३ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको उनले बताए । हिँड्ने बाटो नभएको अग्लो पाटनमा सुरक्षाकर्मीको हातमा रहेको जीपीएसका भरमा टोली स्तम्भको पहिचान गर्न सफल भएको हो । अक्सिजनको मात्रा कम भएकाले लेक लाग्ने उत्तिकै सम्भावनालाई समेत ध्यानमा राख्दै सुरक्षा गस्ती पुगेको थियो । उनले सीमा अनुगमन गरेर टोली सुरक्षित रूपमा फर्केको बताए । हिउँले १०र११ महिना ढाक्ने सो क्षेत्रमा उपयुक्त समयमा गएका कारण सीमा स्तम्भको पहिचान गर्न सफल भएको हो । मानवबस्ती नभएको सो क्षेत्रमा टोलीले आफूलाई आवश्यक पर्ने सबै कुरा बोकेर सीमाको अनुगमनमा निस्कनुपरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP