मंगलबार , बैसाख २९, २०८३

सेवाग्राहीलाई चाहिएको बेला रकम झिक्न सजिलो होस् भनेर बैंक तथा वित्तीय संस्थाहरुले ठाउँठाउँमा एटीएम बुथ राखेका हुन्छन् । तर, सोही एटीएम बुथको सेवा प्रभावकारी हुन नसक्दा पछिल्लो समय सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आउन थालेको छ । एटीएममा पैसा झिक्न जाँदा कहिले पैसा हुँदैन त कहिले बिग्रेको अवस्थामा भेटिन्छ । बिग्रेको एटीएम पनि लामो समयसम्म बनेको पाइँदैन । अन्तरबैंकिङ एटीएम कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था भएसँगै बैंकहरुले एमीएमबाट दिने सुविध पनि प्रभावकारी नबनाएका हुन् ।

जुनसुकै एटीएम बुथबाट जुनसुकै बैंकको एटीएम कार्ड राखेर पैसा निकाल्दा शुल्क नलाग्ने भएपछि केही बैंकहरुका एटीएमको सेवा प्रवाहमा समस्या भएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्था सँगै बैंकहरुले समेत एटिएएम सेवा प्रवाहमा सुस्तता देखाएका हुन् ।

ललितपुरको बालकुमारीस्थित नबिल बैंकको एटीएम बिग्रेको लामो समय भयो तर अझै बन्न सकेन । यस्तै बालाजुको नेपालटारमा रहेको प्राइम बैंकको एटीएम बुथको हालत पनि उस्तै छ । नेपालटारको प्राइम बैंकको सो बुथ आक्कलझुक्कल मात्रै चल्छ भने अधिकांश समय सेवा अवरुद्ध नै हुन्छ । यसैगरी नेपालटारकै सिद्धार्थ बैंकको एटीएम बुथ पनि बिग्रेको भन्दै बन्द गरिएको लामो समय भइसक्यो । यता सामाखुसीको एक बैंकको एटीएम बुथमा रकम निकाल्न जाँदा कहिल्यै पैसा निस्कँदैन ।

 

यी त प्रतिनिधि उदाहरणमात्रै हुन्, पछिल्लो समय एटीएम बुथबाट पाइने सुविधा टिठलाग्दो छ । कोरोना महामारीबाट सचेत रहन अपनाइनुपर्ने सामान्य मापदण्ड समेत एटीएममा देखिदैन् । उपत्यका भन्दा बाहिरका एटीएम बुथमा यस्तो समस्या झनै बढी रहेको बताइएको छ ।

केही बैंकर्सहरुबाट त अरुको बैंकको पैसा झिक्न किन एटीएममा पैसा हालिरहनु र किन बनाइरहुन भन्नेसम्मका अभिव्यक्तिहरु सुनिन थालेको छ । एटीएमबाट सास्ती भएपछि एटीएम प्रयोगकर्ताले राष्ट्र बैंकका समेत गुनासो गर्न थालेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । पछिल्लो समय एटीएम प्रयोगकर्ताहरुको गुनासो राष्ट्र बैंकसम्म आउने क्रम बढ्दै गएको भट्टको भनाइ छ ।

राष्ट्र बकले बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट लिँदै आएको विभिन्न सेवामा शुल्क लिन नपाउने व्यवस्था गरेपछि बैंकहरुको त्यस्ता सेवा शुल्क प्रवाह कमजोर भएको बैंकर्स आफै स्वीकार्छन् । नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बैंकहरुलाई विभिन्न सेवा शुल्क लिन नपाउने व्यवस्था गर्दा यसले सेवाको गुणस्तर घट्ने भएकोले त्यस्ता शुल्कबारे निर्णय गर्ने अधिकार बजारलाई नै छोड्नुपर्ने तर्क गरे । उनले भने, ‘आज हामीले सबै कुरा निःशुल्क भन्दा सेवाको गुणस्तर बिग्रिँदै गएको छ । एटीएम निःशुल्क गर्ने भनेपछि बैंकहरुले एटीएम मर्मत नै गर्न छाडेको भन्ने कुरा आएको छ ।’

राष्ट्र बैंकका प्रवक्ता भट्ट भने बैंकहरुले अहिलेको महामारीको लागि भनेर राष्ट्र बैंकले गरेको निर्णयलाई कार्यान्वयन गर्न बैंकहरुबीच सहकार्य हुनुपर्ने तर्क गर्छन् । बैंकका कर्मचारीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लागू गरिएको यो व्यवस्था कार्यान्वयनमा लैजादा बैंकहरुलाई नै फाइदा हुने उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्र बैकमा कतिपय बैंकले आफनो एटीएममा पैसा नराखिदिने र अरुको एटीएममा जानुपर्ने बाध्यता गरिरहेका भन्ने गुनासो आएको छ । यसले बैंकहरुको इमेज खस्कनेछ । यदि उसले एटीएमबाट सेवा नदिँदा अन्त्यमा मान्छे काउन्टरसम्म जाने हुँदा यसले बैंकलाई कुनै फाइदा हुँदैन । काउन्टरमा मान्छे भीड गराउँदा आफ्ना कर्मचारी बढी व्यस्त गराउनुपर्ने हुन्छ । सामान्य अवस्थामा पनि यस्तै हो भने उहाँहरुले कर्मचारी थप गर्नुपर्ने हुन्छ ।’

बैंकहरुसँग अन्य विषयमा छलफल हुँदा समेत राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरुले दिने एटीएम सेवाको विषय उठाउने गरेका छन् । अहिलेको बैंकहरुको कामले उनीहरुको ब्राण्डिङमा समेत धक्का पर्नेछ भने त्यसले बैंकप्रतिको विश्वास गुम्न सक्छ ।

प्रवक्ता भट्टका अनुसार राष्ट्र बैंकले यो विषयमा बोलिँदिदा बैंकलाई समस्या होला की भनेर नबोलिएको हो । कोरोना महामारीका समयमा बैंकरहरुले एकातिर विद्युतीय कारोबारलाई प्रोत्साहनको नारा लगाउने गरेका छन् भने अर्को तर्फ शुल्कको विषयलाई लिएर सेवा प्रवाह नै प्रभावित पार्न खोजिरहेका छन् ।

कोरोना कहरको समयमा चैतमा नै एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने व्यवस्था राष्ट्र बैंकले गर्यो । तर पछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटीएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने नीतिगत रुपमै यवस्था गरेको थियो । सोही बमोजिम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत निर्देशन जारी गर्दै भदौ अन्तिम साता शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।

यसअघि जुन बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड भएपनि सोही बैंक तथा वित्तीय संस्थाको एटीएम बुथबाट रकम झिक्दा मात्रै शुल्क लाग्दैनथ्यो । अरु बैंक वित्तीय संस्थाको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नुपथ्र्यो ।
@ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP