मंगलबार , बैसाख २९, २०८३

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । शनिबार दुई नेताबीच बालुवाटारमा भएको यो भेटले नेकपा मात्र होइन, कांग्रेससमेत तरंगित भएको छ ।

कांग्रेस नेताहरुका अनुसार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केही दिनदेखि भेटका लागि प्रस्ताव गर्दै आएका थिए । नेकपाको घर झगडा चर्किरहेका बेला भेट्नु उचित नहुने भन्दै नेताहरुले बालुवाटार नजान सुझाएका थिए ।

तर, देउवा शनिबार बालुवाटार पुगे ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति आफूनिकट केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर बालुवाटार गएका थिए । भेटमा विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा छलफल भएको थियो ।

स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको समस्याबारे खुलेर कुरा गरेका थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावले आफ्नो पार्टी निकै संकटमा परेको उनले देउवालाई बताएका थिए ।

प्रचण्डले प्रस्तावमा आफूमाथि लगाएको आरोप स्वीकार गर्न नसक्ने, तर पार्टी केन्द्रीय कमिटीसम्म पुगे बहुमतले पास हुने अवस्था रहेको उनले सुुनाएका थिए । ‘वामदेव गौतमले साथ दिनुभयो भने मात्र हो, नभए त्यो प्रस्ताव बहुमतले अघि बढ्यो भने म प्रधानमन्त्रीबाट हट्नुपर्छ’ ओलीको भनाइ उद्धृत गर्दै कांग्रेस स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कांग्रेसले साथ दियो भने म सरकारमा रहिरहन सक्छु ।’

सत्ता सहयात्राबारे योभन्दा धेरै कुराकानी नभएको देउवा निकट एक नेताले दाबी गरे ।

प्रचण्ड–माधवमाथि दबाव दिने रणनीति

नेताहरुका अनुसार नेकपा फुट्छ वा फुट्दैन अहिलेसम्म अनुमानकै विषय छ । ओलीले प्रस्ताव गरेको भनिएको सत्ता सहकार्य भोलि पार्टी फुटेको अवस्थाका लागि हो ।

त्यसैले, प्रधानमन्त्रीले शनिबार गरेको भेट सत्ता सहयात्राको प्रस्ताव कम र पार्टीका विरोधी खेमामथि दबाव दिने दाउका रुपमा बढी प्रयोग गरेको कांग्रेस नेताहरु बताउँछन् ।

भेटलाई लिएर सत्ता सहयात्राको प्रस्ताव, ८ मन्त्रालय दिन तयार जस्ता समाचारहरु आउनुले पनि त्यसलाई पुष्टि गर्ने कांग्रेस नेताहरुको दाबी छ । ‘यसअघि पनि आफ्नो पार्टीमा संकट परेका बेला देउवालाई भेटेर यसरी नै प्रचार गरिएको थियो’ देउवानिकट एक नेता भन्छन्, ‘त्यसैले योपटक हामीले नभेट्नुस् भनेका थियौं । तर, प्रधानमन्त्रीले तारन्तार बोलाएपछि गएँ भन्नुभयो ।’

यो भेटले पार्टीलाई सत्तालोलुप देखाएर बद्नाम गर्ने काम मात्र गरेको कांग्रेस नेताहरुको तर्क छ ।

त्यसोभए देउवा बालुवाटार किन गए ?

कांग्रेसका कतिपय नेता भने यो भेटमा ओली मात्र होइन, देउवाको पनि स्वार्थ रहेको बताउँछन् ।

पार्टीभित्र देउवा सहज अवस्थामा छैनन् । महाधिवेशन नजिकिँदै जाँदा आफ्नै समूहमा संकट चुलिएको छ । खासगरी उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने लगभग पक्का भएपछि देउवा दबावमा परेका छन् ।

फेरि पार्टी सभापति र प्रधानमन्त्री बन्ने चाह भने घटेको छैन । त्यसैले सत्तारुढ नेकपा विभाजनसम्म हुन सक्ने गरी भएको विवादलाई चासोपूर्वक हेरेको नेताहरु बताउँछन् ।

एक नेता व्यंग्य गर्दै भन्छन्, ‘नेकपा फुट्यो भने मन्त्रीको अफर त बुढानीलकण्ठमा सुतेर बसे पनि आउँछ । प्रधानमन्त्रीको अफर छ कि छैन भनेर बुझ्न जानुभएको होला ।’

तर, ओलीले देउवालाई प्रधानमन्त्रीको अफर गरे कि गरेनन् भन्ने थाहा नभएको उनले बताए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने नेकपाको विवादमा कांग्रेस निरपेक्ष रहेको दाबी गरेका छन् । ‘कोही कसैलाई भ्रम छ भने’ भन्दै उनले ट्वीट गरेका छन्, ‘५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौं, रहने छौं । यता या उताको जोड–घटाउमा कांग्रेसको शीर गन्ने धृष्टता कोहीबाट नहोस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP