सोमबार , अषोज २६, २०८३

काठमाडौं – कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउन पिसिआर परीक्षण गरिन्छ। पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ र नेगेटिभ बाहेक अर्को विषय पनि समावेश गरिएको हुन्छ, ‘सिटी भ्यालु!’

कोरोना परीक्षण गराउनेहरु धेरैको जिज्ञासा हुन्छ, ‘सिटी भ्यालु भनेको के हो?’

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई अधिकांश बिरामीले पटक पटक सोधिरहने प्रश्नमध्ये यो पनि एक हो। कति बिरामीले त उनलाई फोन गरेर नै सोध्ने गर्छन् भने कति बिरामी अस्पतालमै रिपोर्ट देखाउन पुग्छन्।

त्यो बेला डा पुनको एउटै जवाफ हुन्छ, ‘सिटी भ्यालुमा धेरै ध्यान नदिनुस्। रिपोर्ट नेगेटिभ या पोजेटिभ के छ त्यो महत्वपूर्ण हो।’

उनी भन्छन्, ‘सिटी भ्यालु भनेको के हो भनेर धेरैले सोध्छन्। बिरामीहरुको आँखा रिपोर्टको त्यही सिटी भ्यालुमै हुँदो रहेछ। मैले यसलाई धेरै ध्यान नदिनुस् भन्ने जवाफ दिने गरेको छु।’

पिसिआर परीक्षणले भाइरस लोडको अवस्था के कति छ भन्ने समेत देखाउँछ, जसलाई साइकल थ्रेसहोल्ड (सिटी) भ्यालुका रुपमा परिभाषित गरिएको छ।

सिटी भ्यालुबाट बिरामीमा भाइरसको भार, संक्रमणको गम्भीरता र संक्रमण फैलाउन सक्ने क्षमता अनुमान गर्न सकिन्छ।

यसलाई सामान्य रुपमा बुझाउने हो भने जति थोरै सिटी भ्यालु उति धैरै भाइरसको भार, संक्रमणको गम्भीरता र संक्रमण फैलाउन सक्ने क्षमता बढी भएको मानिन्छ।

यद्यपि सिटी भ्यालुमा देखिने अंकले सबै व्यक्तिलाई एउटै अर्थ नदिने डा पुन बताउँछन्। त्यसैले पनि उनले बिरामीलाई सिटी भ्यालुमा खासै ध्यान नदिन आग्रह गर्ने गरेका छन्।

उनले भने, ‘सिटी भ्यालु कम हुनु भनेको भाइरसको भार बढी र संक्रमण सार्न सक्ने संभावना धेरै हुने भयो। तर यो सबै व्यक्तिमा एउटै हुँदैन।’

परीक्षणका लागि प्रयोग हुने मेसिन, नमूना संकल विधि, तापक्रम, बिरामीको अवस्था लगायतले पनि सिटी भ्यालु निर्धारण गर्ने उनी बताउँछन्। एकै व्यक्तिको पनि नाक र घाँटीबाट निकालिएको स्वाबको नतिजामा समेत सिटी भ्यालु फरक देखिन सक्छ।

सिटी भ्यालुमा देखिने अंकको पछि नलाग्न आग्रह गर्दै डा पुन भन्छन्, ‘यो विभिन्न ल्याब अनुसार पनि फरक पर्छ। कतिले ३५ त कतिले ४० पनि भनिरहेका हुन्छन्। हाल यही अंकको भरमा रिपोर्ट नेगेटिभ भएको भन्न पनि मिल्दैन।’

डा पुन यसलाई यसरी बुझाउँछन्:
‘यदी कसैले मलाई सिटी भ्यालु ३२ आयो राम्रो हो की होइन भनेर सोध्यो भने मैले बिरामीलाई प्रश्न गर्छु, तपाईंलाई १०/१२ दिनअघि लक्षण देखिएको थियो ? यदी बिरामीले मलाई दुई हप्ता अगाडि लक्षण थियो भन्ने जवाफ दिन्छ भने त्यो रिकभरी तिर गयो। तर होइन लक्षण भर्खर सुरु भएको छ भन्ने जवाफ आउँछ भने त्यो अवस्थामा आगामी दिनमा सिटी भ्यालु घट्न सक्छ। किनभने त्यहाँ लक्षण बल्ल देखिन थालेको छ।’

उनका अनुसार पहिले सिटी भ्यालु ३० भएकाको पनि दोस्रो पटक जाँच गर्दा सिटी भ्यालु २५ आउने गरेका छन्। भर्खर लक्षण देखिन थालेको बेला स्वाब लिदा सिटी भ्यालु बढी देखिन सक्ने र पछि विस्तारै घट्न थाल्ने डा पुनको अनुमान छ।

सिटी भ्यालु कम हुँदैमा सबै जनामा कोरोनाले जटिलता ल्याउँछ भन्ने पनि हुँदैन। कम सिटी भ्यालु हुनेहरु पनि आइसोलेसनमा बसेर मात्र पनि निको हुने गरेको डा पुन बताउँछन्। तर सिटी भ्यालु ३० हुनेहरुलाई पनि कोरोनाले अप्ठ्यारो बनाउने गरेको उनको अनुभव छ।

‘यो व्यक्ति अनुसार फरक पर्छ। रोगसँग लड्ने क्षमता कसको कति छ भन्ने पनि भर पर्छ’ उनले भने, ‘यो सबैलाई एउटै लागु हुँदैन। मेरो सिटी भ्यालु ३२, ३५ आयो मैले अब सार्न सक्दिन भनेर बुझ्नु हुँदैन।’

भाइरोलोजिष्ट डा लुना भट्टको टिप्पणी पनि डा पुनको भन्दा फरक छैन। सिटी भ्यालु बिरामीका लागि भन्दा पनि चिकित्सकका लागि मात्र महत्पूर्ण हुने बताउँछिन्। बिरामीले कोरोना रिपोर्टमा पोजिटिभ र नेगेटिभ भन्ने कुरामा मात्र ध्यान दिन उनको आग्रह छ।

उनी भन्छिन्, ‘यो सिटी खासमा बिरामीलाई चाहिने होइन। पोजिटिभ र नेगटिभ भए मात्र पुग्छ। सिटी भ्यालु चिकित्सकले भाइरसको भार लगायत विषय हेर्नका लागि मात्र हो।’

सिटी भ्यालुलाई बिरामीले बुझ्दै नबुझी आफैँ थोरै धेरै छ भनेर धारणा बनाउन थालेको उनले बताइन्। यसले गर्दा बिरामीमा अन्यौलता बढ्न सक्ने उनी बताउँछिन्।

‘थोरै छ धेरै छ केही हुँदैन भनेर बिरामीहरुले आफैँ आफ्नै बारेमा धारणा बनाउन थाल्छन्’ उनले भनिन्, ‘यसले गर्दा झनै अन्यौलता बढ्न सक्छ। त्यसैले यो बिरामीको अवस्था बुझ्न चिकित्सकका लागि मात्र चाहिने हो।’

कोरोना रिपोर्टमा सिटी भ्यालु हेरेर स्वयं मूल्यांकन नगर्न बिरामीहरुलाई डा लुनाको अपिल छ।
pIC BY google

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP