नेपालले लामो समयदेखि उठाउँदै आएको थप हवाई प्रवेशमार्गको विषय प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा फेरि चर्चामा आएको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको भेटवार्तामा प्रधानमन्त्री शाहले नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाएका थिए।
ताज होटलमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणकै क्रममा हवाई रुटको विषय टुंग्याउन चाहेको बताएका थिए। तर जयशंकरले प्राविधिक कठिनाइ र प्रक्रियागत विषय उल्लेख गर्न थालेपछि शाहले बीचमै हस्तक्षेप गर्दै नेतृत्वको भूमिका र जिम्मेवारीबारे आफ्नो धारणा राखेका थिए।
‘Leaders should work on ideas, process should be followed by bureaucracy’ भन्दै शाहले नेतृत्वले नयाँ सोच र समाधानका उपायमा काम गर्नुपर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियागत जिम्मेवारी कर्मचारीतन्त्रको भएको बताएका थिए।
जयशंकरले हवाई रुट उपलब्ध गराउन प्राविधिक काम तथा सम्बन्धित निकायसँगको छलफल आवश्यक रहेको बताएका थिए। जवाफमा शाहले समस्या देखाएर मात्रै नहुने भन्दै समाधान खोज्नु नै नेतृत्वको जिम्मेवारी भएको धारणा राखेका थिए।
भेटवार्तामा दुई देशबीचको क्रिकेट सम्बन्ध विस्तारको विषयसमेत उठेको थियो। प्रधानमन्त्री शाहले नेपाली क्रिकेट खेलाडीलाई भारतमा र भारतीय खेलाडीलाई नेपालमा खेल्न सहज वातावरण बनाउनुपर्ने प्रस्ताव राखेका थिए।
तर यस विषयमा पनि जयशंकरले प्रक्रियागत समस्या र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएका थिए। शाहले भने खेलकुदजस्तो विषयमा समस्या मात्रै देखाउनुभन्दा दुवै देशका खेलाडीलाई अवसर उपलब्ध गराउनेतर्फ पहल गर्नुपर्ने बताएका थिए।
नेपालले लामो समयदेखि थप हवाई प्रवेशमार्गको माग गर्दै आएको छ। यस विषयमा भारतसँग ठोस सहमति हुन नसक्दा अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा नेपालको हवाई सम्पर्क विस्तारमा चुनौती रहँदै आएको छ।
स्रोत : सेतोपाटी











