नेपालका अन्तर्राष्ट्रिय हवाई रुटमध्ये आठ वटा एकतर्फी र तीन वटा दुईतर्फी रहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को एआईपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन) मा उल्लेखित विवरणअनुसार नेपालबाट बाहिरिने र नेपाल प्रवेश गर्ने प्रयोजनका लागि छुट्टाछुट्टै हवाई रुट निर्धारण गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार काठमाडौं–भैरहवा–लखनऊ जोड्ने ब्राभो ३४५ (बी३४५) हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। हाल एकतर्फी सञ्चालनमा रहेको यो रुट दुईतर्फी बनेसँगै नेपालको अन्तर्राष्ट्रिय हवाई रुट संरचनामा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ।
प्राधिकरणका अनुसार एकतर्फी हवाई रुटबाट नेपाल प्रवेश गर्न वा नेपालबाट बाहिरिनमध्ये एउटा दिशामा मात्रै उडान गर्न सकिन्छ। उदाहरणका लागि, लिमा ६२६ रुट हुँदै काठमाडौं भएर सुर्खेत र महेन्द्रनगरबाट भारततर्फ जान सकिन्छ। तर यही रुट प्रयोग गरेर नेपाल प्रवेश गर्न भने मिल्दैन।
त्यस्तै, दिल्ली र लखनऊ क्षेत्रबाट सिमरा हुँदै काठमाडौं प्रवेश गर्ने गल्फ ५९८ पनि एकतर्फी रुट हो।
नेपालका एकतर्फी अन्तर्राष्ट्रिय हवाई रुट
एकतर्फी रुटमा काठमाडौं–पोखरा–भैरहवा हुँदै लखनऊ जाने ब्राभो ३४५, पटनाबाट सिमरा हुँदै काठमाडौं आउने गल्फ ३३६, कोलकाता तथा ढाकाबाट नेपाल प्रवेश गर्ने रोमियो ५८१, कोलकाताबाट सिमरा हुँदै काठमाडौं आउने गल्फ ४६३, जनकपुरबाट पटना जाने गल्फ ३३५ र काठमाडौं हुँदै विराटनगरबाट ढाकातर्फ जाने रोमियो ३४४ रहेका छन्।
बी३४५ रुट दुईतर्फी सञ्चालनमा आएपछि नेपाल र भारतबीचको हवाई सम्पर्क थप सहज हुने तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ।











