नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा पक्षको महाधिवेशनमा सक्रिय रहेका आफ्ना जनप्रतिनिधिलाई पदमुक्त गर्ने तयारी गरेको छ। पार्टी सभापति गगन थापाले केन्द्रीय समितिको बैठकमा देउवा पक्षमा खुलेर लागेका जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन चेतावनी दिएका हुन्।
थापाले स्थानीय तहदेखि प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभासम्म कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को समूहको गतिविधिमा संलग्न हुनेहरू पार्टीको सदस्य रहन नसक्ने बताएका छन्।
‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर लडेको छ। चुनाव चिह्न लिएर जितेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने ऊ कांग्रेसको सदस्य कायम रहँदैन,’ थापाले बैठकमा भने, ‘राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा सदस्य तथा स्थानीय तहका मेयर–उपमेयरले राजीनामा गर्नुहोला। राजीनामा नगरे पार्टी विधानअनुसार आवश्यक प्रक्रिया अघि बढ्छ।’
सभापति थापाले देउवा पक्षलाई छुट्टै पार्टीको रूपमा व्याख्या गर्दै एउटै राजनीतिक दलका दुईवटा महाधिवेशन हुन नसक्ने धारणा राखेका छन्। देउवा पक्षले कांग्रेसकै १५औँ महाधिवेशन गर्न लागेको दाबी गरिरहेका बेला संस्थापन पक्षले त्यसमा सक्रिय जनप्रतिनिधिमाथि कारबाहीको संकेत गरेको हो।
थापाले कांग्रेसको सदस्यता कायम राख्ने वा अर्को समूहमा जाने भन्ने विषय सम्बन्धित व्यक्तिको छनोट भएको पनि बताएका छन्।
देउवा पक्षमा खुलेका जनप्रतिनिधिलाई कारबाहीको तयारी
कांग्रेसका एक शीर्ष नेताका अनुसार देउवा पक्षको महाधिवेशनमा खुलेर सक्रिय हुने जनप्रतिनिधिलाई लक्षित गरी कारबाहीको तयारी भइरहेको छ। तर, दुवै पक्षमा नखुलेर तटस्थ बसेका जनप्रतिनिधिलाई भने तत्काल कारबाही नगरिने बताइएको छ।
राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार निर्वाचित भएको दल त्याग गरेको अवस्थामा जनप्रतिनिधिको पद रिक्त गराउने प्रक्रिया अघि बढाउन सकिन्छ। तर, यसका लागि सम्बन्धित व्यक्तिलाई स्पष्टीकरणको अवसर दिनुपर्ने हुन्छ।
स्पष्टीकरण चित्तबुझ्दो नभएमा केन्द्रीय समितिले दलबाट निष्कासनको प्रक्रिया अघि बढाउन सक्छ। त्यसपछि प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको हकमा सम्बन्धित सचिवालयलाई र स्थानीय तहका जनप्रतिनिधिको हकमा निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।
यद्यपि, देउवा पक्षको महाधिवेशनमा सहभागी हुनु मात्रै दल त्याग गरेको कानुनी प्रमाण हो वा होइन भन्ने विषयले पदमुक्तिको प्रक्रिया जटिल बनाउन सक्छ।
संघीय र प्रदेश सभामा देउवा पक्षका सांसद को–को छन्?
प्रतिनिधि सभा
प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद रहेकामा दुई जना देउवा पक्षमा खुलेर लागेका छन्। समानुपातिक सांसद हरिना देवी कामी र सुशीला ढकाल आचार्य देउवा पक्षमा देखिएका छन्। निनु कुमारी कर्ण र रीना उप्रेती भने तटस्थ रहेको बताइएको छ।
राष्ट्रिय सभा
राष्ट्रिय सभामा कांग्रेसका २४ सांसद रहेकामा देउवा पक्षमा खुलेका सांसदको संख्या तुलनात्मक रूपमा बढी छ।
कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना र नारायणदत्त भट्टलगायत नेताहरू देउवा पक्षमा सक्रिय छन्। विष्णुदेवी पुडासैनी र चन्द्र केसी भने कुनै पक्षमा खुलेका छैनन्।
प्रदेश सभा
प्रदेशगत रूपमा देउवा पक्षमा खुलेका सांसदको अवस्था यस्तो छ :
-
कोशी प्रदेश: कांग्रेसका २९ सांसदमध्ये केदार कार्की, भूपेन्द्र राई र रामकुमार खत्री गरी तीन जना देउवा पक्षमा सक्रिय छन्।
-
मधेस प्रदेश: देउवा पक्षको महाधिवेशनमा सक्रिय प्रदेश सांसद नरहेको बताइएको छ।
-
बागमती प्रदेश: कांग्रेसका ३६ सांसदमध्ये विमल ठकुरी, दिपेन्द्र श्रेष्ठ, श्याम खड्का, गोविन्द लम्साल, विनु रायमाझी, माया श्रेष्ठ, कञ्चन वादे र मसिना खड्का गरी आठ जना देउवा पक्षमा छन्।
-
गण्डकी प्रदेश: कांग्रेसका २७ सांसदमध्ये जीत शेरचन र दिपेन्द्र थापा देउवा पक्षमा खुलेका छन्।
-
लुम्बिनी प्रदेश: कांग्रेसका २८ सांसदमध्ये रोज राणा र माया पुन देउवा पक्षमा छन्। देउवा पक्षले राणालाई प्रदेश सभापति र पुनलाई उपसभापतिको जिम्मेवारी दिएको छ।
-
कर्णाली प्रदेश: देउवा पक्षको महाधिवेशनमा सक्रिय प्रदेश सांसद नरहेको बताइएको छ।
-
सुदूरपश्चिम प्रदेश: कांग्रेसका १७ सांसदमध्ये कमलबहादुर शाह, मेघराज खड्का, प्रकाशबहादुर बम, डम्मरी महरा, सरस्वती खड्का, शिवराज भट्ट र मधु भारती गरी सात जना देउवा पक्षमा छन्। विक्रम धामी र गीता चौधरी भने कुनै पक्षमा खुलेका छैनन्।
स्थानीय तहका जनप्रतिनिधिको विवरण संकलन हुँदै
कांग्रेसका नेताहरूका अनुसार स्थानीय तहमा कांग्रेसबाट निर्वाचित भएर हाल देउवा पक्षको महाधिवेशनमा सक्रिय रहेका जनप्रतिनिधिहरूको विवरण संकलन भइरहेको छ।
देउवा पक्षको महाधिवेशन नजिकिँदै गर्दा सभापति थापाको चेतावनीले कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्ने देखिएको छ। जनप्रतिनिधिलाई पदमुक्त गर्ने विषयमा पार्टीले कस्तो कानुनी र सांगठनिक प्रक्रिया अपनाउँछ भन्ने विषयले आगामी राजनीतिक घटनाक्रमलाई थप रोचक बनाउनेछ।











