समाचार | PuraKhabar
मेलबर्न । अस्ट्रेलियाको राजनीतिमा नेपाली मूलका युवाहरूको सहभागिता बढ्दै गएको छ । यसैक्रममा भिक्टोरिया राज्यमा आगामी नोभेम्बर २८ मा हुने राज्य निर्वाचनमा नेपाली मूलका शंकर धरेल पनि उम्मेदवार बनेका छन् ।
विपक्षी लिबरल पार्टीको नेतृत्वमा रहेको गठबन्धनका तर्फबाट धरेल भिक्टोरियाको Northern Metropolitan Region बाट उम्मेदवार बनेका हुन् । निर्वाचन नजिकिँदै गर्दा उनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् । मतदातासँगको भेटघाट, प्रचारप्रसार तथा विभिन्न चुनावी गतिविधिमार्फत उनी आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा छन् ।
यसैबीच, निर्वाचनअघि सार्वजनिक भएका विभिन्न सर्वेक्षणहरूले विपक्षी गठबन्धनलाई अग्रता देखाएको बताइएको छ । यसले गठबन्धनका उम्मेदवारहरूमा चुनावी प्रतिस्पर्धाप्रति चासो बढाएको छ ।
भिक्टोरिया राज्यमा अग्रिम मतदानसमेत सुरु भइसकेको छ । नोभेम्बर २८ मा हुने निर्वाचनले राज्यको आगामी राजनीतिक नेतृत्व चयन गर्नेछ ।











