नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका छन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र एमाले नेता रायमाझीलगायतका आरोपित तथा दोषीहरू छुट्दै जाँदा पनि सरकारले प्रकरणको थप अनुसन्धान अघि बढाउन नसकेको भन्दै शाहीले असन्तुष्टि व्यक्त गरेका हुन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले भ्रष्टाचारविरुद्ध कारबाही गर्ने प्रतिबद्धता जनाएर सत्तामा पुगेको सरकारले समेत भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान गर्न नसकेको टिप्पणी गरेका छन् ।
उनका अनुसार नयाँ सरकार गठन भएको सात महिना र त्यसअघिको सरकारको समयसमेत जोड्दा १३ महिना बितिसक्दा पनि थप अनुसन्धान गरी नयाँ मुद्दा अदालतसम्म पुर्याउन सकिएको छैन ।
‘नयाँ सरकार बनेको सात महिना र त्यसअघिको सरकारसहित जोड्दा तेह्र महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्याउन सकेको छैन,’ शाहीले लेखेका छन् ।
विगतको सरकारले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याएका व्यक्तिहरूसमेत रिहा भइसकेको उल्लेख गर्दै उनले बाँकी आरोपितमाथिको अनुसन्धान र कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्दै सरकारसँग जवाफ मागेका छन् ।
‘नयाँ फाइल किन तयार भएन ? दोषीमाथि थप कारबाही किन भएन ?’ भन्दै उनले सरकारलाई प्रश्न गरेका छन् ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाअनुसार बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
रायमाझीको रिहाइपछि पुनः चर्चामा आएको यस प्रकरणमा थप अनुसन्धान र बाँकी आरोपितमाथिको कारबाहीलाई लिएर सरकारमाथि राजनीतिक तथा सार्वजनिक दबाब बढेको छ ।











