अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी क्वान्टास (Qantas) ले ८५० कर्मचारीको रोजगारी कटौती गर्ने घोषणा गरेको छ। कम्पनीले कटौती गर्न लागेका कामहरूमध्ये केही जिम्मेवारी अब भारतमा सारिने जनाएको छ।
क्वान्टासले एक्सेन्चर (Accenture) सँग गरेको आउटसोर्सिङ सम्झौताअन्तर्गत विदेशमा रोजगारी सिर्जना गर्ने योजना अघि सारेको हो। यस निर्णयसँगै अस्ट्रेलियामा रहेका कर्मचारीको रोजगारी प्रभावित हुने भएको छ।
कम्पनीका अनुसार पहिलो चरणमा वित्त, खरिद, मानव संसाधन र मार्केटिङ विभागका कर्मचारी प्रभावित हुनेछन्। आगामी केही वर्षभित्र करिब ८५० पद प्रभावित हुने र पहिलो चरणका परिवर्तन सन् २०२७ को मध्यदेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।
क्वान्टासले प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगसँगै कम्पनीको कार्यप्रणाली आधुनिकीकरण र खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउन यो निर्णय लिएको जनाएको छ।
यसैबीच, कर्मचारी युनियनले अस्ट्रेलियामा रहेका रोजगारी विदेश सार्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रभावित कर्मचारीको रोजगारी जोगाउन पहल गर्ने बताएको छ। क्वान्टासले भने सम्भव भएसम्म प्रभावित कर्मचारीलाई कम्पनीभित्रै अन्य पदमा पुनः व्यवस्थापन गर्ने र आवश्यक तालिम तथा सहयोग उपलब्ध गराउने जनाएको छ।











