काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै जाँदा पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर १५औँ महाधिवेशनबाट डा. शशांक कोइरालालाई सभापतिको उम्मेदवार बनाउने तयारी गरेको छ।
आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने भनिएको महाधिवेशनमा कोइरालालाई नेतृत्वमा अघि सार्न देउवाले सहमति दिएको देउवा पक्षका नेताहरूले बताएका छन्। महाधिवेशन तयारी समितिको संयोजकसमेत रहेका शशांकलाई सभापति बनाउने विषयमा समूहभित्र सकारात्मक वातावरण बनेको बताइएको छ।
देउवा समूहका नेताहरूका अनुसार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि शशांकको नेतृत्वप्रति सकारात्मक छन्। देउवाले समेत बीपी कोइरालाका कान्छा छोरा शशांकलाई नेतृत्वमा अघि सार्नु उपयुक्त हुने धारणा राखेका छन्।
शशांकलाई सभापतिमा अघि सार्ने सहमतिमा प्रकाशशरण महत, एनपी साउद र रमेश लेखकसहितका नेताहरू पनि सकारात्मक रहेको बताइएको छ। यद्यपि महत र साउदले पनि सभापति पदमा आफ्नो दाबेदारीबारे छलफल गरिरहेको जनाएका छन्।
देउवा समूहले वरिष्ठ नेताहरूको व्यवस्थापन गर्दै महत, साउद र लेखक लगायतलाई पदाधिकारीमा समेट्ने रणनीति बनाएको छ। प्रकाशमान सिंह, निधि र सिटौलालाई वरिष्ठ नेताको जिम्मेवारी दिएर समूहभित्रको शक्ति सन्तुलन मिलाउने तयारी रहेको स्रोतको भनाइ छ।
चिकित्सकबाट कांग्रेसको राजनीतिमा
शशांक कोइराला राजनीतिमा प्रवेश गर्नुअघि चिकित्सकका रूपमा कार्यरत थिए। नेत्र विशेषज्ञका रूपमा परिचित उनलाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी राजनीतिमा ल्याएका थिए।
२०६२ सालमा सम्पन्न कांग्रेसको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शशांक २०७२ सालको १३औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए। उनले तत्कालीन देउवा समूहका अर्जुननरसिंह केसी र कृष्णप्रसाद सिटौला समूहका गगन थापालाई पराजित गरेका थिए।
कोइराला परिवारको राजनीतिक विरासत र बीपी कोइरालाका पुत्र भएका कारण उनलाई कांग्रेसभित्र भावी नेतृत्वका रूपमा हेरिँदै आएको छ। १४औँ महाधिवेशनमा सभापति बन्ने आकांक्षा राखे पनि उनी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिएनन्।
कांग्रेसको आधिकारिकतामाथि कानुनी विवाद
नेपाली कांग्रेसमा गगन थापा नेतृत्वको संस्थापन पक्ष र देउवा समूहबीच आधिकारिकताको विवाद जारी छ। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि पार्टीभित्रको विवाद थप चर्किएको हो।
थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको छ। सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी विवादको पुनरावलोकन प्रक्रिया अघि बढिरहेको छ।
यसैबीच देउवा समूहले छुट्टै महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद समाधान नभए नयाँ दल दर्तासम्मको विकल्पमा समेत छलफल भइरहेको बताइएको छ।
त्यस्तो अवस्था आएमा बीपी कोइरालाले स्थापना गरेको नेपाली कांग्रेसबाटै कोइराला परिवारका सदस्य अलग हुनुपर्ने विडम्बनापूर्ण परिस्थिति सिर्जना हुन सक्छ।
कांग्रेसको आगामी राजनीतिक दिशा, सर्वोच्च अदालतको निर्णय र देउवा समूहको महाधिवेशनले पार्टीको भविष्य कस्तो बनाउने भन्ने विषय अहिले राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।











