काठमाडौं। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरी काग तिहार मनाइँदैछ। हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा लिइन्छ। त्यसैले आजका दिन कागलाई मनपर्ने खानेकुरा दिएर पूजा गर्ने परम्परा छ।
बिहान सूर्योदयका बेला त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत् रूपमा आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।
भट्टराईका अनुसार बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीप दान गर्ने र सूर्योदयका बेला त्रयोदशी परेको दिन काग तिहार मनाउने धार्मिक विधि छ। सोहीअनुसार यमदीप दान शुक्रबार बेलुका नै गरिएको थियो।
यस वर्ष धनवन्तरी जयन्ती पनि आज अर्थात् कात्तिक २१ गते शनिबार परेको छ। तिथि घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ।
त्यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा तथा कात्तिक २४ गते मंगलबार गोरुपूजा, हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा परेको छ।
यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटलाई निर्धारण गरेको छ।
काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना गरिन्छ।
धार्मिक विश्वासअनुसार कागलाई पूजा गरी मनपर्ने खानेकुरा खुवाउँदा उसले यमराजसमक्ष शुभ समाचार पुर्याउँछ भन्ने मान्यता छ। विशेषगरी कागलाई दही–भात खुवाउने चलनसमेत रहेको छ।
आजदेखि लगातार सार्वजनिक बिदा सुरु भएकाले तिहारको चहलपहल पनि बढेको छ। घरघरमा दीपावली, पूजाआजा र पारिवारिक जमघटको तयारीसँगै नेपाली समुदायमा तिहारको उल्लास छाएको छ।











