सिड्नी विमानस्थलमा सुरक्षा जाँचमा खटिएका कर्मचारीहरूको हडतालका कारण शुक्रबार बिहानैदेखि हवाई सेवा प्रभावित भएको छ। हडतालका कारण विमानस्थल पुगेका यात्रुहरूले लामो प्रतीक्षा र असुविधा खेप्नुपरेको छ।
राम्रो तलब, सुविधासहित रोजगारीको सुनिश्चितता माग गर्दै सुरक्षा जाँच सेवा प्रदायक कम्पनी सर्टिस (Certis) का कर्मचारीहरूको युनियनले बिहान ५ बजेदेखि ८ बजेसम्म काम रोकेका थिए।
युनियनले शुक्रबार साँझ ४ः३० बजेदेखि ७ः३० बजेसम्म पुनः सेवा अवरुद्ध गर्ने घोषणा गरेको छ।
हडतालका कारण सुरक्षा जाँच प्रक्रिया प्रभावित भएपछि विमानस्थल व्यवस्थापनले नयाँ कर्मचारी भर्ना गरे पनि समस्या समाधान हुन सकेन। मुख्य सुरक्षा जाँचमा खटिएका अनुभवी कर्मचारीहरू नै काममा नआएपछि यात्रुहरूले थप सास्ती बेहोर्नुपरेको हो।











