डार्विन । अस्ट्रेलियामा आप्रवासन नियन्त्रणको कडा नीति अघि सार्दै आएको वान नेसन पार्टीकी प्रमुख पाउलिन ह्यान्सनले देशका व्यवसायीलाई आवश्यक पर्ने दक्ष कामदार ल्याउन भने अवरोध नगर्ने बताएकी छन्।
अस्ट्रेलियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (ACCI) को लिडर्स समिटमा पहिलो पटक सहभागी हुँदै ह्यान्सनले सामूहिक आप्रवासन (मास माइग्रेसन) रोक्ने तर व्यवसायलाई आवश्यक दक्ष जनशक्तिको आगमनमा अवरोध नगर्ने धारणा राखेकी हुन्।
उनले भनिन्, “हामीले मास माइग्रेसनलाई पूर्ण रूपमा रोक्नेछौँ, तर दक्ष कामदारलाई त्यस्तो कुनै अवरोध गर्ने छैनौँ।”
आगामी निर्वाचनमा वान नेसन पार्टी सत्तामा पुगेमा आप्रवासीको सङ्ख्या घटाउने र आप्रवासनलाई नकारात्मक वृद्धिदरमा पुर्याउने नीति लिइने उनको भनाइ छ।
ह्यान्सनले अस्ट्रेलियालाई आवश्यक नपर्ने पेसामा विदेशी कामदार भित्र्याउन नहुने तर्क गर्दै उबर चालक र कर लेखापालजस्ता कामका लागि आप्रवासी ल्याउने नीतिमाथि पनि प्रश्न उठाएकी छन्।
उनको अभिव्यक्तिले आप्रवासन नियन्त्रण र व्यवसायलाई आवश्यक पर्ने दक्ष जनशक्ति उपलब्ध गराउने विषयबीच सन्तुलन कायम गर्नेबारे अस्ट्रेलियामा जारी बहसलाई पुनः चर्चामा ल्याएको छ।











