डार्विन । फेडरल लेबर सांसद ल्यूक गोस्लिङविरुद्धको Assault केसमा थाई दूतावाससँग सम्बन्धित पाँच अधिकारीको बयान महत्वपूर्ण हुन सक्ने भन्दै बचाउ पक्षले उनीहरूको बयान संकलन गर्न माग गरेको छ।
बुधबार डार्विन लोकल कोर्टमा भएको सुनुवाइका क्रममा गोस्लिङका वकिल मार्टी अस्ट एससीले प्रहरीले अहिलेसम्म संकलन गरेको प्रमाण आरोप पुष्टि गर्न पर्याप्त नरहेको दाबी गरे।
प्रहरीले गत जुलाई १८ मा डार्विन थाई फेस्टिभलमा भएको भनिएको घटनाबारे अहिलेसम्म २२ जना सर्वसाधारणका बयान, एक प्रहरी बयान र १९ वटा सीसीटीभी फाइल संकलन गरेको अदालतलाई जानकारी दिइयो।
गोस्लिङमाथि एनटी एडमिनिस्ट्रेटर डेभिड कोनोलीलाई दुई पटक Assault गरेको आरोप छ। प्रहरीका अनुसार पहिलो घटना कोनोलीले आफूलाई नहेरेको अवस्थामा भएको थियो भने करिब ३० मिनेटपछि अर्को घटना भएको आरोप लगाइएको छ।
तर बचाउ पक्षले उपलब्ध प्रमाणको बलियोपनमाथि प्रश्न उठाएको छ। अस्टले सीसीटीभी फुटेजमा आरोप लगाइएको घटना नदेखिएको दाबी गर्दै कोनोली र उनकी श्रीमतीले दिएको विवरणबीच पनि फरक रहेको अदालतमा बताए।
बचाउ पक्षले विशेषगरी थाई दूतावाससँग आबद्ध पाँच जना अधिकारीको बयानलाई महत्व दिएको छ। अस्टका अनुसार उनीहरूको बयानले गोस्लिङविरुद्ध लगाइएको एक आरोपबारे महत्वपूर्ण तथ्य स्पष्ट पार्न सक्नेछ।
सरकारी पक्षकी अभियोजक जो पुलले ती थाई नागरिकहरूको बयान प्राप्त गर्न आवश्यक प्रक्रिया अघि बढाउने अदालतलाई बताइन्।
बुधबारको सुनुवाइमा गोस्लिङ स्वयं अदालतमा उपस्थित हुन आवश्यक थिएनन्।
कार्यवाहक मुख्य न्यायाधीश सारा म्याकनामाराले Assault केसको अर्को सुनुवाइ नोभेम्बर २५ का लागि तोकेकी छन्। अदालतले सम्बन्धित सबै प्रमाण नोभेम्बर १२ सम्म पेश गर्न आदेश दिएको छ।
यसैबीच, अगस्टमा दायर गरिएको गोस्लिङको कथित बेल उल्लंघनसम्बन्धी छुट्टै मुद्दा पनि अदालतमा उठाइएको थियो। बचाउ पक्षले उक्त आरोपलाई चुनौती दिने जनाएको छ। यस विषयमा अक्टोबर २६ मा निर्देशनात्मक सुनुवाइ हुने भएको छ।
गोस्लिङमाथिका Assault आरोपहरू अदालतबाट प्रमाणित भइसकेका छैनन् र मुद्दा विचाराधीन अवस्थामा रहेको छ।
@Pic From Luke Social media











