काठमाडौँ । भारतबाट आयात हुने पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २० रूपैयाँले बढे पनि नेपाल आयल निगमले आफ्नो बिक्री मूल्य नबढाउने निर्णय गरेको छ । चाडपर्वको समय र उपभोक्ताको हितलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्तिअनुसार हालैको बाढीपहिरोले पारेको असर, आउँदै गरेको चाडपर्व र आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य समायोजन नगरी साबिककै मूल्य कायम गरिएको हो ।
यस निर्णयपछि बजारमा पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ । त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहनेछ ।
तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि बिक्री मूल्य नबढाउँदा निगमलाई १५ दिनमा मात्रै करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ आर्थिक घाटा व्यहोर्नुपर्ने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।











