अष्ट्रेलियाले विद्यार्थी भिजादेखि प्रोटेक्सन भिजासम्मका विभिन्न भिजा नीतिमा कडाइ गर्ने घोषणा गरेको छ। नयाँ व्यवस्थाले विद्यार्थी, उनीहरूका परिवार, पर्यटक भिजामा आउने व्यक्ति तथा भिजा सकिएपछि गैरकानुनी रूपमा बसिरहेका मानिसलाई प्रभाव पार्ने देखिएको छ।
सबैभन्दा पहिले विद्यार्थी भिजाको कुरा गरौँ। विदेशबाट अष्ट्रेलियामा अध्ययनका लागि आउने अधिकांश विद्यार्थीले अब आफ्नो श्रीमान्/श्रीमती वा बच्चाबच्चीलाई फ्यामिली डिपेन्डेन्टका रूपमा ल्याउन नपाउने व्यवस्था गरिएको बताइएको छ। तर पीएचडी अध्ययनका लागि आउने विद्यार्थी तथा केही विशेष देशका नागरिकका हकमा भने अपवाद रहने व्यवस्था छ।
त्यस्तै, एउटा अध्ययन तहमा आएर फेरि तल्लो तहका विभिन्न कोर्समा पटक–पटक भिजा परिवर्तन गर्दै अष्ट्रेलियामा बसिरहने प्रवृत्ति, जसलाई ‘भिजा होपिङ’ भनिन्छ, त्यसलाई पनि नियन्त्रण गर्ने नीति सरकारले अघि सारेको छ।
अर्कोतर्फ, भिजाको अवधि सकिएपछि पनि कानुनी हैसियतबिना अष्ट्रेलियामा बसिरहेका मानिसलाई नियन्त्रणमा लिएर देशनिकाला गर्ने प्रक्रिया तीव्र बनाइने सरकारले जनाएको छ। गृहमामिला मन्त्री टोनी बर्कका अनुसार यस विषयमा पुरानो नीतितर्फ फर्किने तयारी गरिएको छ। सरकारी विवरणअनुसार अष्ट्रेलियामा ७० हजारभन्दा बढी मानिस वैध भिजाबिना बसिरहेको बताइएको छ।
पर्यटक तथा भिजिटर भिजामा आउने र पछि अर्को भिजामा परिवर्तन गरेर अष्ट्रेलियामै बस्ने क्रमलाई रोक्न पनि कडाइ गरिने भएको छ। त्यस्ता भिजामा ‘No Further Stay’ जस्ता सर्त कडाइका साथ लागू गरिने बताइएको छ।
त्यसैगरी प्रोटेक्सन भिजाको दुरुपयोग रोक्न पनि सरकारले कडाइ गर्ने भएको छ। वास्तविक रूपमा संरक्षण आवश्यक नभएका व्यक्तिले झुटा विवरण दिएर प्रोटेक्सन भिजा आवेदन दिने क्रमलाई नियन्त्रण गरिने र त्यस्ता आवेदनमा सहयोग गर्ने माइग्रेशन एजेन्टमाथि समेत कारबाही तथा दर्ता रद्द गर्नेसम्मको व्यवस्था गरिने मन्त्रीले बताएका छन्।
यससँगै अष्ट्रेलियाले भविष्यमा भिजा तथा आप्रवासन व्यवस्थापनमा स्वास्थ्य, निर्माण, शिक्षा, कृषि तथा मत्स्य क्षेत्रलाई प्राथमिकतामा राख्ने नीति अघि सारेको छ।
पछिल्ला केही वर्षदेखि आप्रवासीको संख्या व्यवस्थापन गर्न सरकारमाथि दबाब बढिरहेका बेला यी कदमहरू सार्वजनिक भएका हुन्। विद्यार्थी भिजादेखि अन्य अस्थायी भिजासम्म कडाइ गर्ने सरकारको नीतिले अष्ट्रेलिया आउन चाहने विद्यार्थी, उनीहरूका परिवार र अन्य अस्थायी भिजा धारकलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ।
नयाँ नियमले तपाईंलाई कस्तो प्रभाव पार्न सक्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।










