काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासनबिना संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता कायम गर्न नसक्ने स्पष्ट सन्देश जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको बताएकी छन् ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र, कार्यशैली र जनताप्रतिको जवाफदेहिताले निर्धारण गर्ने बताएकी हुन् ।
उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन, पारदर्शिता र नागरिकको सम्मान सुनिश्चित गर्न सरकार प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।
आन्दोलनका क्रममा भएको जनधनको क्षति र त्यसबाट सिर्जित पीडालाई स्मरण गर्दै कार्कीले यस्ता घटना पुनः दोहोरिन नदिन राज्य, राजनीतिक दल तथा नागरिक समाज सबै पक्ष जिम्मेवार र चनाखो हुनुपर्ने बताएकी छन् ।
२३ भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
कार्कीले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै नवयुवाहरू सडक र डिजिटल सञ्जालमार्फत आवाज उठाउँदा उक्त आवाज दबाउने क्रममा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको उल्लेख गरेकी छन् । कैयौँ युवा जीवनभर अपाङ्गताको पीडा भोग्नुपर्ने गरी घाइते भएको पनि उनले बताएकी छन् ।
आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै राष्ट्रिय सम्पदा र धरोहरसमेत गुमेको उल्लेख गर्दै कार्कीले राष्ट्रको जीवनमा लागेको उक्त घाउ सायदै कहिल्यै पुरिने बताएकी छन् ।
अब सुशासन र परिवर्तनका लागि जनता पुनः सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक फेरि भोटेकोशी बाढीको पीडाबाट गुज्रिरहेको उल्लेख गर्दै कार्कीले विपद्को यस दुःखद घडीमा धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन सबैलाई आह्वान गरेकी छन् ।
‘एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ,’ उनले भनेकी छन् ।











