काठमाडौं — अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच बाढी तथा विपद्पछिको अवस्थाबारे शुक्रबार टेलिफोन संवाद भएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुगेपछि दुई प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको हो। संवादका क्रममा प्रधानमन्त्री शाहले विपद्का बेला अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली नागरिकले देखाएको ऐक्यबद्धता तथा सहयोगप्रति आभार व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले उद्धार तथा राहतका लागि अस्ट्रेलियाले उपलब्ध गराएको सहयोग, विशेषज्ञ ड्रोन अपरेटरको टोली तथा अत्यावश्यक राहत सामग्रीप्रति धन्यवाद दिएका थिए। साथै, बाढीमा हराइरहेका अस्ट्रेलियाली नागरिकको खोजी कार्यलाई थप तीव्र बनाइएको जानकारी उनले दिएका थिए।
वार्ताका क्रममा प्रधानमन्त्री अल्बानिजीले विपद्का कारण नेपालले भोगिरहेको कठिन परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै अस्ट्रेलिया नेपालसँगै रहेको बताएका छन्। उनले बाढी तथा विपद्मा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
दुवै प्रधानमन्त्रीले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ गर्दै खोजी, उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा निरन्तर सहकार्य गर्ने विषयमा समेत जोड दिएका छन्।











