डार्विन — नेपाल र तिब्बतमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै नर्दन टेरिटोरीका एडमिनिस्ट्रेटर His Honour the Honourable David Connolly ले डार्विनस्थित नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट गरी गहिरो समवेदना व्यक्त गरेका छन्।
गभर्नमेन्ट हाउसमा आज दिउँसो भएको भेटका क्रममा एडमिनिस्ट्रेटर कन्नोलीले प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै प्रभावित परिवार, घर तथा जीविकोपार्जन गुमाएका समुदायप्रति आफ्नो सहानुभूति प्रकट गरेका हुन्।
भेटमा NRNA NT का कोअर्डिनेटर त्रिलोचन सापकोटा, NRNA NT का पूर्व कोअर्डिनेटर सञ्जीव ढकाल, NCC सदस्य पुष्कर अधिकारी, NANT की उपाध्यक्ष नम्रता शर्मा तथा अधिवक्ता अञ्जान पौडेल सहभागी थिए।
एडमिनिस्ट्रेटरले नेपालमा रहेका आफ्ना परिवार, आफन्त तथा साथीभाइको अवस्थाबारे चिन्तित नर्दन टेरिटोरीका नेपाली समुदायको पीडालाई आफूले बुझेको बताउँदै यस कठिन समयमा स्थानीय नेपाली समुदायप्रति आफ्नो साथ र समर्थन रहेको बताएका छन्।
विशेषगरी विपत्तिपछि नेपालमा रहेका परिवार तथा आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका नेपाली समुदायका सदस्यहरू मानसिक रूपमा समेत गम्भीर दबाबमा रहेको उल्लेख गर्दै एडमिनिस्ट्रेटरले प्रभावित सबैप्रति सहानुभूति व्यक्त गरेका हुन्।
नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि अष्ट्रेलियामा रहेका नेपाली समुदायमा समेत चिन्ता र शोक छाएको छ। डार्विनको नेपाली समुदायले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको सहयोग र राहतका लागि विभिन्न पहलहरू गर्दै आएको छ।
गभर्नमेन्ट हाउसमा भएको भेटलाई विपत्तिको दुःखमा नर्दन टेरिटोरीको नेतृत्व र डार्विनस्थित नेपाली समुदायबीचको ऐक्यबद्धता तथा सहानुभूतिको महत्वपूर्ण सन्देशका रूपमा लिइएको छ।
एडमिनिस्ट्रेटरले नेपालमा विपत्तिबाट प्रभावित सबै तथा नर्दन टेरिटोरीमा रहेका नेपाली समुदायका सदस्यहरूप्रति आफ्नो विचार, प्रार्थना र समर्थन रहेको बताएका छन्।











