अस्ट्रेलियाको One Nation Party ले देशमा हुने खुद आप्रवासन (Net Overseas Migration) लाई वार्षिक १ लाख ३० हजारमा सीमित गर्ने नीति पुनः दोहोर्याएको छ। पार्टीकी नेता तथा संस्थापक पौलिन ह्यान्सनले आफ्नो पार्टी सत्तामा आएमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या उल्लेख्य रूपमा घटाउने र विद्यार्थीका डिपेन्डेन्ट भिसामा कडाइ गर्ने बताएकी छन्।
ह्यान्सनका अनुसार One Nation को आप्रवासन कटौती मुख्यतः अन्तर्राष्ट्रिय विद्यार्थी र उनीहरूका आश्रितबाट आउनेछ। साथै, अस्थायी ग्राजुएट तथा अन्य अस्थायी भिसामार्फत हुने आगमनमा समेत ठूलो कमी ल्याउने र अस्ट्रेलियालाई आवश्यक पर्ने दक्ष जनशक्तिमा मात्र आप्रवासन केन्द्रित गर्ने पार्टीको योजना छ।
पार्टीको यो घोषणा अहिलेको संघीय सरकारको आप्रवासन लक्ष्यभन्दा निकै कम हो। सरकारले खुद आप्रवासनलाई आगामी वर्षहरूमा करिब २ लाख २५ हजार आसपासमा झार्ने लक्ष्य राखेको छ।
यद्यपि, One Nation को १ लाख ३० हजारको लक्ष्यलाई लिएर पार्टीभित्रै पछिल्लो समय केही अन्योल देखिएको थियो। सांसद डेभिड फार्लीले करिब १ लाख ३० हजार ‘true NOM’ बाहेक आवश्यक दक्ष तथा श्रमिक भिसा जोड्दा वास्तविक संख्या करिब २ लाख ३० हजार पुग्न सक्ने बताएका थिए। तर ह्यान्सनले त्यसलाई अस्वीकार गर्दै पार्टीको आधिकारिक नीति खुद आप्रवासन १ लाख ३० हजारमै सीमित गर्ने रहेको स्पष्ट पारेकी छन्।
One Nation को प्रस्तावले विशेषगरी अस्ट्रेलियामा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थी र उनीहरूका परिवारलाई प्रत्यक्ष असर पार्न सक्ने देखिन्छ। विद्यार्थी भिसालाई आप्रवासनको ‘ब्याकडोर’ का रूपमा प्रयोग गरिएको दाबी गर्दै पार्टीले विद्यार्थी र डिपेन्डेन्ट आगमनमा कडाइ गर्नुपर्ने बताउँदै आएको छ।











