सबिन बराल, अस्ट्रेलिया । नेपालमा पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि अस्ट्रेलियामा रहेर नेपाली भाषामा पत्रकारिता गर्दै आएका पत्रकार तथा ‘१२खरी अष्ट्रेलिया’का सम्पादक हेमन्तराज काफ्लेले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।
काफ्लेले आफ्नो फेसबुकमार्फत पत्रकार पक्राउको घटनालाई लिएर सरकारप्रति प्रश्न उठाउँदै पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्।
उनले लेखेका छन्, “भ्रष्टाचारीलाई एअरपोर्टमा माला र पत्रकारलाई मुखमा ताला लगाउने कुरा सैह्य छैन र हुँदैन !!”
काफ्लेले सरकारको आलोचना गर्ने तथा सरकारविरुद्ध लेख्ने र बोल्ने सबैलाई अपराधीका रूपमा हेर्ने प्रवृत्ति त्याग्नसमेत आग्रह गरेका छन्।
उनले आफ्नो स्टाटसमा भनेका छन्, “तिमीहरु विरुद्ध लेख्ने र बोल्ने सबैलाई अपराधि देख्ने प्रवृति त्याग !!”
पत्रकारलाई विगतका निरंकुश शासनकालमा समेत निशाना बनाइएको स्मरण गर्दै काफ्लेले त्यतिबेला आफूहरू लोकतन्त्र र सञ्चार स्वतन्त्रताको पक्षमा सडकमा उत्रिएको उल्लेख गरेका छन्।
“हिजो तानाशाहहरुले यसरीनै संचारकर्मीलाई निशाना बनाउँदा गद्दी छाड्नु परेको धेरै भएको छैन !! त्यतिबेला हामी सडकमा थियौ !! आज अरु सडकमा ओर्लेका छन,” उनले लेखेका छन्।
पत्रकार श्रेष्ठ पक्राउको घटनापछि सञ्चारकर्मी तथा पत्रकारिता क्षेत्रबाट अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको विषयमा प्रश्न उठिरहेका बेला अस्ट्रेलियामा रहेका पत्रकार काफ्लेको यो अभिव्यक्ति सार्वजनिक भएको हो।
काफ्लेको उक्त स्टाटसले पत्रकारमाथि हुने राज्यको व्यवहार, आलोचनात्मक पत्रकारिताको अधिकार तथा प्रेस स्वतन्त्रताको अवस्थाबारे बहसलाई थप तातेको देखिन्छ।











