सोमबार , अषोज २६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापालाई पत्र पठाउँदै आगामी महाधिवेशनसहित पार्टीका सबै गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्।

कोइरालाले मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै पठाएको तीनबुँदे पत्रमा सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरावलोकनका लागि निस्सा दिएको विषयलाई आधार बनाएका छन्।

सर्वोच्च अदालतले साउन २२ गते कांग्रेसको आधिकारिकतासम्बन्धी यसअघिको फैसलामाथि पुनः सुनुवाइ गर्न अनुमति दिएको थियो। अब उक्त विषयमा सर्वोच्चमा पुनः सुनुवाइ हुने भएकाले अन्तिम फैसला नआएसम्म पार्टीका महत्वपूर्ण गतिविधि अघि नबढाउन कोइरालाले आग्रह गरेका हुन्।

उनले पार्टीको आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी सबै सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्।

कोइरालाको पत्रको पहिलो बुँदामा भनिएको छ, ‘पार्टीको आगामी १५औं महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्कालका लागि स्थगित गरियोस्।’

त्यस्तै, सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म पार्टीबाट दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न उनले सचेत गराएका छन्।

‘अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्ण रूपमा यथास्थितिमा राखियोस्,’ कोइरालाले पत्रमा उल्लेख गरेका छन्।

तेस्रो बुँदामा उनले विधिको शासन र सर्वोच्च अदालतको गरिमा कायम राख्न आग्रह गरेका छन्। मुद्दाको अन्तिम फैसला नआएसम्म कांग्रेसको सम्पूर्ण सांगठनिक संरचनालाई साविककै अवस्थामा राख्दै कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ।

कोइरालाले अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पार्ने गरी कुनै पनि गतिविधि नगर्नसमेत चेतावनी दिएका छन्।

‘कानुनी राज्यको सिद्धान्तबमोजिम अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि अगाडि नबढाउन यो कानुनी ध्यानाकर्षण पत्र पेश गरिएको छ,’ उनले भनेका छन्।

उनले महाधिवेशनलगायतका गतिविधि अघि बढाउँदा अदालतको अवहेलना वा अन्य कानुनी प्रतिकूलता सिर्जना भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनीसमेत दिएका छन्।

कोइरालाले कांग्रेस केन्द्रीय कार्यसमितिलाई पठाएको पत्रको बोधार्थ सभापति गगन थापा, कांग्रेसका प्रदेश, जिल्ला, क्षेत्र, स्थानीय तह, वडा, जनसम्पर्क समिति तथा निर्वाचन आयोगलाई पनि दिएका छन्।

तर पत्रमा उनले गगन थापालाई ‘सभापति’ नभई ‘तत्कालीन महामन्त्री’ भनेर सम्बोधन गरेका छन्। यसले कांग्रेसभित्रको आधिकारिकता र नेतृत्वसम्बन्धी विवाद अझै टुंगिनसकेको संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP