क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अस्ट्रेलियामा रहेको नेपाली समुदायको योगदानको प्रशंसा गर्दै समुदायको बढ्दो उपस्थितिप्रति खुशी व्यक्त गरेका छन्।
अस्ट्रेलियामा रहेका नेपाली संघ–संस्थाहरूको छाता संगठन फेन्का (FENCA) का प्रतिनिधिहरूलाई सोमबार क्यानबेरास्थित संसद भवनमा स्वागत गर्दै प्रधानमन्त्री अल्बानिजीले नेपाली समुदाय अस्ट्रेलियाको बहुसांस्कृतिक समाजको महत्वपूर्ण हिस्सा बन्दै गएको बताएका हुन्।
प्रधानमन्त्री अल्बानिजीले विशेषगरी न्यु साउथ वेल्स राज्यमा नेपाली समुदायको बढ्दो उपस्थितिबारे आफू जानकार रहेको उल्लेख गरे। उनले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायले पुर्याउँदै आएको योगदानको समेत प्रशंसा गरे।
नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजीले आफू नेपाल पुगेको पुरानो स्मरणसमेत सुनाएका थिए। उनले आफू व्याकप्याकरका रूपमा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालसँगको आफ्नो सम्बन्धबारे चर्चा गरे।
नेपाली समुदायका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री अल्बानिजीले अस्ट्रेलियामा नेपाली समुदायको संख्या बढ्दै जानु र विभिन्न क्षेत्रमा समुदायले पुर्याइरहेको योगदान सकारात्मक रहेको बताएका थिए।
फेन्काका प्रतिनिधिहरूको क्यानबेरा भ्रमणका क्रममा संसद भवनमा भएको भेटलाई नेपाली समुदाय र अस्ट्रेलियाली सरकारबीचको सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।











