अष्ट्रेलियाभर आगामी मङ्गलबार, ११ अगस्ट २०२६ मा राष्ट्रिय जनगणना (Census) सञ्चालन हुँदैछ। अष्ट्रेलियन तथ्याङ्क ब्युरो (ABS) ले देशभर रहेका सबै व्यक्ति तथा परिवारलाई जनगणनामा अनिवार्य रूपमा सहभागी भई सही र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
हरेक पाँच वर्षमा सञ्चालन हुने जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा सङ्घीय, राज्य तथा स्थानीय सरकारले अस्पताल, विद्यालय, सार्वजनिक यातायात, आवास, बाल तथा ज्येष्ठ नागरिक सेवा, भाषा सेवा तथा अन्य सार्वजनिक सेवासम्बन्धी नीति तथा बजेट निर्धारण गर्ने भएकाले जनगणनालाई अष्ट्रेलियाको विकास योजनाको महत्वपूर्ण आधार मानिन्छ।
यस वर्ष अधिकांश घरधुरीले अनलाइनमार्फत जनगणना फाराम भर्न सक्नेछन् भने आवश्यक परे कागजी फाराम पनि उपलब्ध गराइनेछ। जनगणनाको रात अष्ट्रेलियामा रहेका सबै व्यक्तिले विवरण उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ। यसमा अष्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, अस्थायी भिसावाहक, अन्तर्राष्ट्रिय विद्यार्थी तथा आगन्तुक सबै समावेश हुन्छन्।
यसपटकको जनगणनामा १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिका लागि पहिलो पटक लैङ्गिक पहिचान (Gender Identity), जन्मका बेला अभिलेख गरिएको लिङ्ग (Sex Recorded at Birth) र यौन अभिमुखीकरण (Sexual Orientation) सम्बन्धी प्रश्नहरू समावेश गरिएको छ।
ABS ले जनगणनामा उपलब्ध गराइने सबै व्यक्तिगत विवरण कानुनद्वारा सुरक्षित रहने र ती जानकारी केवल तथ्याङ्कीय तथा नीतिगत प्रयोजनका लागि मात्र प्रयोग गरिने स्पष्ट पारेको छ। साथै, जनगणनाको नाममा हुन सक्ने ठगीबाट सावधान रहन आग्रह गर्दै बैंक खाता, पासवर्ड वा अन्य आर्थिक विवरण कसैलाई पनि नदिन अनुरोध गरेको छ।
नेपाली समुदायका लागि किन महत्त्वपूर्ण?

अष्ट्रेलियामा नेपाली समुदाय पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्तार हुँदै गएको छ। शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, निर्माण, व्यवसाय तथा आतिथ्य क्षेत्रलगायत विभिन्न क्षेत्रमा नेपालीहरूको योगदान बढ्दो छ। तर समुदायको वास्तविक अवस्था सरकारी तथ्याङ्कमा सही रूपमा समेटिएमा मात्र त्यसअनुसार आवश्यक सेवा र नीति निर्माण गर्न सहज हुन्छ।
यसैले जनगणनामा जन्मस्थान, घरमा बोलिने भाषा (नेपाली), जातीय पृष्ठभूमि, धर्म, शिक्षा, रोजगारी लगायतका विवरण यथार्थ रूपमा उल्लेख गर्नु अत्यन्त महत्वपूर्ण छ। यस्ता तथ्याङ्कले भविष्यमा नेपाली भाषाका सेवा, दोभाषे सुविधा, स्वास्थ्य सेवा, सामुदायिक कार्यक्रम तथा शैक्षिक योजनाको विस्तारमा प्रत्यक्ष योगदान पुर्याउन सक्छ।
बहुसांस्कृतिक अष्ट्रेलियामा नीति तथा सार्वजनिक सेवा तथ्याङ्ककै आधारमा तय हुने भएकाले जनगणनामा सहभागी हुनु कानुनी दायित्व मात्र नभई आफ्नो समुदायको पहिचान, आवश्यकता र योगदानलाई राष्ट्रिय नीतिनिर्माणसम्म पुर्याउने महत्वपूर्ण अवसर पनि हो।
ABS ले सबैलाई समयमै जनगणना पूरा गरी सही र यथार्थ विवरण उपलब्ध गराउन आग्रह गरेको छ। आज प्रदान गरिने सही तथ्याङ्कले भविष्यमा शिक्षा, स्वास्थ्य, भाषा सेवा, पूर्वाधार विकास तथा अन्य सार्वजनिक सेवासम्बन्धी निर्णयमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिएको छ।











