शुक्रबार , भाद्र १२, २०८३

काठमाडौंमा आगामी भदौ ७ देखि १३ गतेसम्म आयोजना हुने तय भएको १७औँ इन्टरनेसनल एसोसिएसन फर टिबटेन स्टडिज (IATS) सम्मेलन नेपाल सरकारले स्थगित गराएको छ। सरकारका उच्च अधिकारीको निर्देशनपछि आयोजकले सम्मेलन तत्कालका लागि रोकिएको जानकारी दिएका छन्।

आयोजकका अनुसार सोमबार मुख्यसचिव गोविन्दबहादुर कार्की र परराष्ट्र सचिव अमृतबहादुर राई ले काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई सिंहदरबारमा बोलाएर हालको परिस्थितिलाई ध्यानमा राख्दै सम्मेलन आयोजना नगर्न निर्देशन दिएका थिए। त्यसपछि आयोजकले IATS बोर्डलाई नेपालमा सम्मेलन गर्न नसकिने जानकारी गराएको हो।

सम्मेलन संयोजक तथा काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) का निर्देशक सागरराज शर्मा ले सरकारसँग समन्वयमै तयारी भइरहेको भए पनि अन्तिम समयमा कार्यक्रम रोक्न निर्देशन आएको बताए।

यो सम्मेलन हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ इन्स्टिच्युट को संयुक्त आयोजनामा हुन लागेको थियो। उद्घाटन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा तथा मुख्य सत्रहरू काठमाडौंको सोल्टी होटलमा सञ्चालन गर्ने तयारी गरिएको थियो। सम्मेलनका लागि अधिकांश पाँचतारे होटलमा बुकिङसमेत भइसकेको थियो।

सम्मेलनमा विश्वभरबाट ७२८ जना सहभागी दर्ता भएका थिए, जसमा १०० भन्दा बढी चीन र १५० भन्दा बढी अमेरिका बाट आउने तयारीमा थिए।

चीनको चासो प्रमुख कारण?

कार्यक्रम स्थगित हुनुमा चीनको कूटनीतिक चासो र दबाब मुख्य कारण भएको विश्लेषण गरिएको छ। सम्मेलनमा भारतको धर्मशालास्थित केन्द्रीय तिब्बती प्रशासन (CTA) का केही प्रतिनिधि अनौपचारिक रूपमा सहभागी हुने तयारी थियो। यद्यपि चिनियाँ पक्षको असन्तुष्टिपछि CTA ले औपचारिक प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको थियो।

यसअघि काठमाडौंस्थित चिनियाँ राजदूत चाङ माओमिङ ले परराष्ट्र सचिवसँग भेट गरी सम्मेलनबारे चासो व्यक्त गरेका थिए। त्यसको केही समयपछि नेपाल सरकारले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो।

हाल विश्वभर तिब्बती समुदायले चीनविरुद्धका गतिविधि तीव्र बनाइरहेका बेला नेपालमा हुने यस्तो सम्मेलनप्रति बेइजिङले विशेष संवेदनशीलता देखाएको विश्लेषकहरूको भनाइ छ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको IATS सम्मेलन यसअघि एसियामा जापान (१९८९) र मंगोलिया (२०१३) मा सम्पन्न भइसकेको थियो। अब सम्मेलन अर्को मुलुकमा सार्ने वा नयाँ मिति तय गर्ने विषयमा IATS बोर्डले निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP