सोमबार , अषोज २६, २०८३

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाको आगामी तेस्रो केन्द्रीय अधिवेशनअघि अध्यक्ष पदका लागि मेरिल्याण्ड निवासी गौतम दाहालले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो केन्द्रीय अधिवेशन आगामी अगष्ट १४, १५ र १६ मा भर्जिनिया राज्यमा हुँदैछ। हाल अधिवेशन तयारी समितिका सदस्य सचिव रहेका दाहालले उम्मेदवारीसँगै आफ्नो नेतृत्वमा लागू गर्न चाहेका प्राथमिक एजेन्डाहरू पनि सार्वजनिक गरेका हुन्।

दाहालले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संगठनात्मक संरचना मजबुत बनाउने, नेपाल–अमेरिका नागरिकस्तरीय सम्बन्ध विस्तार गर्ने, दोस्रो पुस्ताका नेपाली युवालाई विभिन्न नेतृत्वदायी फोरममा सक्रिय बनाउने तथा सबै च्याप्टरबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने योजना सार्वजनिक गरेका छन्।

उनले आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण प्राथमिकता आर्थिक अनुशासन र पारदर्शिता हुने स्पष्ट पारेका छन्।

“आर्थिक अनुशासन र पारदर्शितालाई म पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु। संस्थाप्रतिको विश्वास र भरोसा आर्थिक पारदर्शितामै आधारित हुन्छ। मेरो कार्यकालमा कुनै प्रश्न उठ्न नदिने गरी काम गर्नेछु। मेरा हात सफा छन् र सफा नै राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” दाहालले भने।

दाहालले अमेरिकाभर रहेका च्याप्टरहरूको सहकार्यमा प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्ने, विभिन्न क्षेत्रमा ख्याति कमाएका नेपाली विज्ञहरूको सहभागितामा ‘थिंक ट्यांक’ (बौद्धिक समूह) स्थापना गरी समसामयिक विषयमा संस्थागत धारणा सार्वजनिक गर्ने योजना पनि अघि सारेका छन्।

उनको एजेन्डामा संस्थागत सुशासन, विधानसम्मत कार्यप्रणाली, आर्थिक विवरणलाई थप पारदर्शी बनाउँदै चुस्त संगठन निर्माण गर्ने प्रतिबद्धता पनि समावेश छ।

यसका साथै उनले अमेरिकाका विभिन्न तहका सरकारमा निर्वाचित नेपाली मूलका अमेरिकी प्रतिनिधिहरूसँग सहकार्य गर्दै नेपालको हितमा वकालत गर्ने, अमेरिकी संघीय संसदमा विगतमा सक्रिय रहेको नेपाल ककसलाई पुनः सक्रिय बनाउन पहल गर्ने उल्लेख गरेका छन्।

दाहालले नेपाली कांग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको अर्धकदको शालिक अमेरिकाको कुनै सार्वजनिक पार्क वा स्थानमा स्थापना गर्न पहल गर्ने, नेपाली समुदायको प्रभाव रहेका विभिन्न राज्यमा नेपालको नाममा सडक वा गल्ली नामकरणका लागि स्थानीय सरकारसँग समन्वय गर्ने तथा सबै च्याप्टरलाई वार्षिक कार्यतालिकाअनुसार सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

उम्मेदवारी घोषणापछि जनसम्पर्क समिति अमेरिकाका मतदाता, शुभेच्छुक तथा विभिन्न सहभागीहरूले दाहालको उम्मेदवारीप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गरेका छन्।

गौतम दाहाल को हुन्?

ओखलढुंगाको शहीदभूमिमा जन्मिएका गौतम दाहाल विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिमा संलग्न छन्। उनले नेपाल विद्यार्थी संघ ओखलढुंगाको जिल्ला सदस्य, ओखलढुंगा–काठमाडौं सम्पर्क समितिको सभापति तथा तत्कालीन अर्थ राज्यमन्त्री गोपाल राईका प्रेस सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन्।

करिब २१ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका दाहाल सन् २००७ देखि नेपाली जनसम्पर्क समिति अमेरिकाको विभिन्न जिम्मेवारीमा सक्रिय छन्। हाल उनी नेपाली कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन्। यसअघि उनी जनसम्पर्क समितिका प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

पत्रकारितामा पनि लामो अनुभव भएका दाहालले नेपालमा रहँदा रेडियो नेपाल, इमेज टेलिभिजन, नेपाल–१ टेलिभिजन, हिमालय टाइम्स, राष्ट्रपुकार, नेपालवाणी र नेपाल जागरणलगायत सञ्चारमाध्यममा काम गरेका थिए। उनी ग्लोब नेपाल डटकमका संस्थापक सम्पादक तथा ग्लोब नेपाल मिडिया हाउसका अध्यक्ष पनि हुन्।

अमेरिकामा उनले नेपाल अमेरिका पत्रकार संघ (NEAJA) को निर्वाचित अध्यक्ष तथा बाल्टिमोरस्थित नेपाली संस्था बानाको निर्वाचित महासचिवका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।

स्पष्ट वक्ता, संगठनप्रति प्रतिबद्ध र निरन्तर सक्रिय नेताका रूपमा परिचित दाहालले आगामी अधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीमार्फत नेतृत्वको दाबी प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP