डार्विन, ३१ जुलाई – गैरआवासीय नेपाली संघ नर्दन टेरिटोरी (NRNANT) को प्रस्तुतिमा र नेपालिज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिटोरी (NCANT) को व्यवस्थापनमा आयोजना हुन लागेको एनआरएनए एनटी टी–२० क्रिकेट लिग २०२६ को लिग चरणको खेल तालिका सार्वजनिक गरिएको छ।
प्रतियोगितामा नर्दन टेरिटोरीका नेपाली क्रिकेट टोलीहरूमध्ये ८ वटा टोली सहभागी भएका छन्। प्रतियोगिता आगामी १ देखि ३ अगस्ट २०२६ सम्म काजालिज एरेना, डुराक, पाल्मरस्टन मा सञ्चालन हुनेछ।

लिग चरणको खेल तालिका NCANT को आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गरिएको छ। तीन दिनसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीहरूले रोमाञ्चक टी–२० प्रतिस्पर्धा गर्नेछन्।
नेपालिज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिटोरी (NCANT) का अध्यक्ष राजेश भुसालले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडी तथा टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले यस प्रतियोगिताको हिस्सा बनेर नेपाली क्रिकेटलाई अगाडि बढाउन योगदान गर्ने सबै खेलाडी र टोलीको प्रशंसा गर्दै सफल प्रतियोगिताका लागि शुभकामना दिएका छन्।
अध्यक्ष भुसालले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने एनटी क्रिकेट, आयोजक NRNANT साथै NANT का सदस्यहरू तथा नर्दन टेरिटोरीमा रहेका सम्पूर्ण नेपाली समुदायप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले सबैको साथ र सहयोगले मात्र यस्ता खेलकुद गतिविधि सफल हुने बताए।
आयोजकले डार्विन तथा नर्दन टेरिटोरीमा रहेका सम्पूर्ण खेलप्रेमी नेपाली समुदायलाई मैदानमा उपस्थित भई खेलाडी तथा आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न आग्रह गरेको छ।
प्रतियोगिताले नर्दन टेरिटोरीमा नेपाली क्रिकेटको विकास, खेलाडीहरूको क्षमता प्रदर्शन तथा समुदायबीचको एकतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।










