‘अस्ट्रेलियाबासी नेपालीका सबै समस्या समाधान गर्न सरकार तयार छ’ : अर्थमन्त्री स्वर्णिम बाग्ले
साउन ११, २०८३ सोमबार १४७ पटक हेरिएको
काठमाडौं/सिड्नी । नेपालका अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले अस्ट्रेलियामा रहेका गैरआवासीय नेपाली (एनआरएनए) का समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सिड्नीमा आयोजित अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई अनलाइनमार्फत सम्बोधन गर्दै अर्थमन्त्री बाग्लेले वर्तमान सरकार विगतका सरकारजस्तो केवल प्रतिबद्धता जनाएर पूरा नगर्ने नभई काम गरेर देखाउने सरकार भएको दाबी गरे।
उनले अस्ट्रेलियामा ठूलो संख्यामा नेपाली समुदाय रहेको उल्लेख गर्दै उनीहरूको समस्या र मागलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताए।
“अस्ट्रेलियामा ठूलो संख्यामा नेपाली समुदाय हुनुहुन्छ। तपाईंहरूको समस्या र मागहरू सम्बोधन गर्दै, यहाँबाट प्राप्त सीप, दक्षता र आर्थिक सामर्थ्यलाई राष्ट्र निर्माणसँग जोड्नु आवश्यक छ,” उनले भने।
अर्थमन्त्री बाग्लेले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘एनआरएनए बन्ड’ को व्यवस्था गरेको जानकारी दिँदै त्यसमार्फत गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरे।
उनले विदेशमा आर्जन गरेको ज्ञान, अनुभव, प्रविधि र पूँजीलाई नेपालका विकास परियोजनामा उपयोग गर्न सरकार इच्छुक रहेको उल्लेख गर्दै एनआरएनए समुदायसँग सहकार्यलाई अझ सुदृढ बनाइने विश्वास व्यक्त गरे।