पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि व्यवसाय सहजीकरणको आरोप, २० प्रतिशत सेयर ‘सहजीकरण’को बदलामा दिएको दाबी
साउन १, २०८३ शुक्रबार ४८ पटक हेरिएको
काठमाडौं । व्यवसायी चुन्नप्रसाद पौडेल र कमलकिशोर मालपानीले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसाय विस्तारमा सहजीकरण गरिदिएबापत विवादास्पद व्यापारी दीपक भट्टको कम्पनीलाई श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर उपलब्ध गराइएको बयान दिएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेको मुद्दामा उनीहरूले तत्कालीन अर्थमन्त्री पौडेलले नै आफूहरूलाई दीपक भट्टसँग चिनजान गराएको र सरकारी निकायमा सहजीकरण हुने विश्वास दिलाएपछि भट्टलाई उद्योगमा साझेदार बनाइएको उल्लेख गरेका छन्।
बयानअनुसार श्रीराम टोबाको उद्योगको २० प्रतिशत अर्थात् ३ लाख ७५ हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले दीपक भट्टसँग सम्बन्धित हिमालयन एसेट म्यानेजमेन्ट प्रालिका नाममा बिक्री गरिएको थियो। उनीहरूले उक्त सेयर व्यवसाय सहजीकरणको बदलास्वरूप उपलब्ध गराइएको दाबी गरेका छन्।
व्यवसायीहरूले तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली र निर्देशक रामप्रसाद रेग्मीले विभिन्न स्थानमा छापा मारेर व्यापार सञ्चालनमा अवरोध सिर्जना गरेको आरोप पनि लगाएका छन्। त्यसपछि आफूहरूले तत्कालीन अर्थमन्त्री पौडेललाई भेट्दा उनले आफ्नो सानेपास्थित निवासमा दीपक भट्टसँग भेट गराइदिएको बयानमा उल्लेख छ।
उनीहरूका अनुसार भट्ट उद्योगमा साझेदार बनेपछि सुपारी आयात प्रक्रिया सहज भएको र उद्योगले आयात कोटा प्राप्त गर्न सफल भएको थियो। यद्यपि कुन सरकारी निकायमार्फत कसरी सहजीकरण भयो भन्ने विषयमा आफूलाई जानकारी नभएको बयानमा उल्लेख गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस प्रकरणमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग २० करोड ९० लाख रुपैयाँ र दीपक भट्टसँग ४७ करोड ७७ लाख ६६ हजार २५० रुपैयाँ बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
(नोट: यो समाचार अदालतमा दायर गरिएको मुद्दा र बयानमा आधारित आरोपहरू हुन्। सम्बन्धित पक्षको दोष अदालतबाट अन्तिम रूपमा प्रमाणित भइसकेको छैन।)