सोमबार , अषोज २६, २०८३

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा आगामी जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको छ।

‘प्रवासी सञ्चार माध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित हुने सम्मेलनमा नेपाल पत्रकार महासंघका १२ वटा वैदेशिक शाखा सहआयोजक रहेका छन्।

सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा सहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, विभिन्न वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानस्थित पत्रकार र विश्वभरका नेपाली सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठका अनुसार विदेशमा रहेका नेपाली समुदायका गतिविधि, समस्या, सफलता र सरोकारलाई मातृभूमिसम्म प्रभावकारी रूपमा पुर्‍याउन प्रवासी पत्रकारिताको भूमिका बढ्दै गएको सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो।

महासंघ जापान शाखाकी उपाध्यक्ष मनिषा चम्लागाईँले सम्मेलनमा प्रवासी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, महासंघको केन्द्र र वैदेशिक शाखाबीचको सम्बन्ध, जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभाव तथा प्रेस स्वतन्त्रताजस्ता विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया हुने जानकारी दिएकी छन्।

महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले सम्मेलनले केन्द्र र वैदेशिक शाखाबीचको सम्बन्धलाई थप संस्थागत बनाउने विश्वास व्यक्त गरेका छन्। विदेशमा रहेर पनि नेपाली पत्रकारहरूले देशप्रति जिम्मेवार पत्रकारिता गरिरहेको सन्देश सम्मेलनले दिने उनको भनाइ छ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले प्रविधिको विकाससँगै नेपालभित्र र बाहिरबाट गरिने पत्रकारिताबीचको दूरी हटिसकेको उल्लेख गर्दै पत्रकारिता अब विश्वव्यापी अभ्यास बनिसकेको बताए। उनका अनुसार डायस्पोरामा सक्रिय पत्रकार र उनीहरूले गरिरहेको पत्रकारिता नेपाली समुदायका लागि मात्र होइन, नेपालका लागि पनि महत्वपूर्ण बन्दै गएको छ।

आयोजकका अनुसार सम्मेलनले विश्वभरका नेपाली पत्रकारलाई साझा मञ्चमा जोड्दै प्रवासी पत्रकारिताको इतिहासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ। यसले सञ्चारकर्मीबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै संस्थागत विकास र व्यावसायिक क्षमता अभिवृद्धिमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्मेलनलाई सफल बनाउन जापानस्थित फिनटेक कम्पनी डिजिटल वालेट कर्पोरेसन अन्तर्गत सञ्चालित स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट मुख्य कार्यक्रम साझेदार बनेका छन्। साथै फ्रन्टअप ई–सिम सहित अन्य प्रायोजक तथा सहयोगी संस्थाको समेत सहयोग रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP