आइतबार , जेठ ३१, २०८३

डार्विन, अष्ट्रेलिया – अष्ट्रेलियाको उत्तरी क्षेत्र (नर्दन टेरिटोरी) को राजधानी डार्विनमा नेपाल फेस्टिभल २०२६ भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, परम्परा, खानपान तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित फेस्टिभलमा १० हजारभन्दा बढी दर्शक तथा सहभागीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

फेस्टिभलको उद्घाटन नर्दन टेरिटोरीकी मुख्यमन्त्री लिया फिनोचियारोले प्रमुख अतिथिका रूपमा गरेकी थिइन्। कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवर, नर्दन टेरिटोरीका मन्त्री तथा सांसदहरू खोडा पटेल, चार्ल्स जिन्सन र ओली कार्लसन, साथै संघीय सांसद लुक गोसलिङको विशेष उपस्थिति रहेको थियो।

 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एनआरएनए एनटीका अध्यक्ष त्रिलोचन सापकोटाले नेपाल फेस्टिभलले नेपाली संस्कृति तथा पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले फेस्टिभल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, कलाकार तथा समुदायप्रति आभार व्यक्त गरे।

औपचारिक कार्यक्रमको सञ्चालन एनआरएनए एनटीकी सचिव प्रियासा नेपाल र एनआरएनए अष्ट्रेलियाका महासचिव चूडामणि सापकोटाले गरेका थिए।

फेस्टिभलको प्रमुख आकर्षणका रूपमा नेपालका चर्चित राष्ट्रिय कलाकार अर्जुन सापकोटाको प्रस्तुति रह्यो। उनले आफ्नो सांगीतिक प्रस्तुति र दर्शकसँगको उत्कृष्ट अन्तरक्रियामार्फत उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। त्यसैगरी स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई अझ विशेष र स्मरणीय बनाएको थियो।

8k

फेस्टिभलमा सहभागीहरूले विभिन्न परम्परागत नेपाली परिकारहरूको स्वाद लिनुका साथै नेपाली कला, संस्कृति र जीवनशैली झल्काउने विविध कार्यक्रमको अवलोकन गरेका थिए। सम्पूर्ण कार्यक्रमभर उत्साहपूर्ण र पारिवारिक वातावरण देखिएको थियो।

 

कार्यक्रम संयोजक निरोज देवकोटाले नेपाल फेस्टिभल २०२६ ऐतिहासिक रूपमा सफल भएको बताउँदै यसको सफलताका लागि सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गरे।

यसैबीच, नेपाल फेस्टिभलको अवसर पारेर एनटी टी–२० कप ट्रफी सार्वजनिक गरिएको थियो। उक्त ट्रफीको अनावरण नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गरेका थिए। ट्रफी सार्वजनिक कार्यक्रमले क्रिकेटप्रेमीहरूबीच विशेष आकर्षण थपेको थियो।

 

आयोजकका अनुसार नेपाल फेस्टिभल २०२६ नर्दन टेरिटोरीमा आयोजना भएका नेपाली समुदायका सबैभन्दा ठूलो र सफल कार्यक्रमहरूमध्ये एक बनेको छ। फेस्टिभलले नेपाली संस्कृति, परम्परा र सामुदायिक एकतालाई प्रवर्द्धन गर्नुका साथै बहुसांस्कृतिक समाजबीच मित्रता र सद्भावलाई अझ मजबुत बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि


TOP