सोमबार , जेठ १८, २०८३

वि.सं. २०८३ ज्येष्ठ १८ गते सोमवार तदनुसार ई. सं. २०२६ जुन ०१ तारिख, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२७, शाके १९४८, नेपाल सं. ११४६, किरातवर्ष ५०८६, मञ्जुश्री वर्ष २८६२, हिजरी सं. १४४७, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, चन्द्रास्त : बिहान ०५:४४ बजे र चन्द्रोदय : साँझ ०७:१७ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:१६ बजे, आषाढ कृष्णपक्ष (अनलागा) प्रतिपदा÷परेवा तिथि, दिउँसो ०३:२२ बजेसम्म, त्यसपछि द्वितीया तिथि, ज्येष्ठा नक्षत्र, साँझ ०६:२६ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, साँझ ०६:२६ बजेसम्म, त्यसपछि धनु राशिमा, सिद्धि योग, बिहान ०६:१३ बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा कौलव करण दिउँसो ०३:२२ बजेसम्म, त्यसपछि तैतिल करण भोलि बिहान ०४:२४ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : पद्म, चन्द्रवर्ण : रातो (साँझ ०६:२६ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : उत्तर (साँझ ०६:२६ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : पूर्व (दिउँसो ०३:२२ बजेसम्म), त्यसपछि उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०३:३२ बजेदेखि भोलि बिहान ०४:४२ बजेसम्म, नक्षत्र शूल : पूर्व, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, आज : साहित्यकार गोपालप्रसाद रिमाल स्मृति दिवस, विश्व दूध दिवस

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १९ गते : कौशिकी उत्पत्ति, महाराज छत्रशाल जन्मजयन्ती (कृष्णप्रणामीहरूको पर्व), श्री ५ वीरेन्द्र स्मृति दिवस, २० गते : विश्व साइकल दिवस, २१ गते : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस,साहित्यकार भवानी भिक्षु जयन्ती, जातीय विभेद उन्मूलन दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिमाग बोझिलो बन्ने भएकाले ससाना कुरामा समेत विवादको परिस्थिति बन्नसक्छ, त्यसैले महत्त्वहीन र बेकारका काममा शक्ति र समय खर्च गर्नुहुँदैन । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ साम्बसदाशिवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अश्विनीकुमाराभ्यां नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । बढी खर्च हुने तथा व्यर्थका काममा अल्मलिएर दिन बित्ने परिस्थिति छ । झगडाको योगसमेत बनेको हुँदा मुखलाई कन्ट्रोलमा राखी काममा खटेको जाती हुन्छ । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ÷लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुटुम्ब वा चेलीबेटीसँग सम्पर्क हुनेछ, अचानक कुनै पैसा हात पर्ने सम्भावना रहेको छ, लगानीमा रहेको रकम पनि फिर्ता हुनसक्छ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत छ । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सिन्दूरे रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । स्वनिर्णयमा गरेका काममा सफलता मिल्ने दिन भए पनि कुनै महत्त्वकाङ्क्षी काम गर्दै हुनुहुन्छ भने जानकार व्यक्तिको सुझाव ग्रहण गर्नुहोला । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । कामधन्दामा सहजताको अनुभूति हुनेछ, घरपरिवारमा पनि समझदारी रहने छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ÷सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुधाकराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । करियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷घिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । कर्मप्रतिको निष्ठाभावमा बृद्धि हुनेछ । हाकिम, गुरुजन वा ठूलो मान्छेसँग उठबस गर्न पाइने छ, घरपरिवारबाट पनि शुभ समाचार प्राप्त हुनेछ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ सिन्दूरे रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम


TOP