शुक्रबार , जेठ १५, २०८३

काठमाडौं — नेपालमा अवैध भिओआइपी कल बाइपास प्रकरणमा संलग्न रहेको आरोपमा २०६७ सालमा पक्राउ परेका व्यक्तिमध्ये अहिले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार) पनि रहेको खुलासा भएको छ। उकेराले सार्वजनिक गरेको खोज रिपोर्टअनुसार उनी तत्कालीन चेरी वर्ल्ड कम्युनिकेसनका मेनेजिङ डाइरेक्टरका रूपमा कार्यरत थिए।

नेपालमा २०६६ सालदेखि अवैध कल बाइपासका घटना बढेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दूरसञ्चार सेवा प्रदायकहरूसँग समन्वय गरेर ‘अप्रेशन भोइस फक्स’ सञ्चालन गरेको थियो। बंगलादेशमा सेनाले त्यस्ता गिरोहविरुद्ध कारबाही थालेपछि केही सदस्य नेपाल आएर यहीँबाट कल बाइपास सञ्चालन गरिरहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

उक्त अनुसन्धानकै क्रममा २०६७ पुस ११ गते कुपन्डोलसहित बालुवाटार, लाजिम्पाट, जोरपाटी र महाराजगन्ज क्षेत्रमा छापा मार्दा बंगलादेशी नागरिकहरूसँगै कुमार व्यञ्जनकार पनि पक्राउ परेका थिए। प्रहरीका अनुसार गिरोहबाट ४ हजार ५ सयभन्दा बढी एनसेल सिम, ५ सयभन्दा बढी नेपाल टेलिकम सिम र कल बाइपासमा प्रयोग हुने उपकरण बरामद गरिएको थियो। अनुसन्धानमा एक सिमबाट मासिक चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको खुलेपछि प्रहरीले ८२ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको थियो।

अनुसन्धानका क्रममा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूको भूमिका पनि शंकाको घेरामा परेको थियो। प्रहरीले कल बाइपास सञ्चालन भइरहेका स्थानमा २४ सै घण्टा चल्ने उच्च गतिको इन्टरनेट जडान गरिएको, त्यसबापत दोब्बरसम्म शुल्क लिइएको र प्रयोगकर्ताको गतिविधिबारे जानकारी हुँदाहुँदै पनि नियामक निकायलाई सूचित नगरिएको निष्कर्ष निकालेको थियो।

त्यसबेला चेरी वर्ल्ड कम्युनिकेसनसँग आबद्ध रहेका कुमार व्यञ्जनकारसहित केही आईएसपी सञ्चालक र कर्मचारीहरू पक्राउ परेका थिए। निलेशरत्न स्थापित र राजाराम पन्थीसमेत यही प्रकरणमा जोडिएका थिए। प्रहरीको म्याद थपसम्बन्धी डायरीमा कुमार व्यञ्जनकारको नाम स्पष्ट रूपमा उल्लेख भएको उकेराले जनाएको छ।

तर पछि जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। तत्कालीन जिल्ला न्यायाधिवक्ता बद्री वलीले पर्याप्त प्रमाण नपुगेको भन्दै मुद्दा अगाडि नबढाउने निर्णय गरेका थिए। यद्यपि, त्यस समयका केही अधिकारीहरूले अनौपचारिक रूपमा आर्थिक प्रभावका कारण मुद्दा कमजोर बनाइएको दाबी गरेका छन्।

सिआइबीका तत्कालीन प्रमुख राजेन्द्रसिंह भण्डारीले पनि त्यतिबेला इन्टरनेट सेवा प्रदायकहरूको संलग्नताबारे सार्वजनिक रूपमा शंका व्यक्त गरेका थिए। उनले भिओआइपीमा सक्रिय ग्राहकहरू पहिचान गर्न सकिने प्राविधिक आधार हुँदाहुँदै पनि सेवा प्रदायकहरूले जानकारी नदिएको बताएका थिए।

उकेराको रिपोर्टमा बंगलादेशी नागरिक रुबेल चौधरीको नाम पनि मुख्य योजनाकारका रूपमा उल्लेख गरिएको छ। उनी तत्कालीन कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ थिए। प्रहरी स्रोतका अनुसार रुबेलले नेपालमा कल बाइपास सञ्जाल विस्तार गरेको आशंका गरिए पनि राजनीतिक पहुँचका कारण उनी औपचारिक अनुसन्धानको दायरामा ल्याउन नसकिएको दाबी गरिएको छ।

यस विषयमा प्रतिक्रिया लिन उकेराले कुमार बेनसँग सम्पर्क प्रयास गरे पनि उनले कुनै प्रतिक्रिया दिएका छैनन्।

@Source: Ukeraa

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी


TOP