परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ । भारत सरकारको निमन्त्रणामा त्यसतर्फ जाने तयारीमा रहेको मन्त्री खनालको भ्रमण एकाएक स्थगित भएको हो । आगामी जेठ १८ जेठ गते नयाँदिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स (आईबीसीए) शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका उनको भारत सरकारले उक्त सम्मेलन नै स्थगित गरेपछि भ्रमण स्थगित भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयललगायतसँग भेटका लागि समय मिलाउने प्रयास जारी रहेको थियो। वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि बदलिएको राजनीतिक परिवेशमा द्विपक्षीय सम्बन्धलाई प्राथमिकतामा राखेर भेटवार्ताको समय मिलाउने प्रयासकाबीच भ्रमण रोकिएको हो । मन्त्री खनालको भारत भ्रमण लगत्तै भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आउने भ्रमण योजना समेत प्रभावित भएको जनाइएको छ ।
भारतीय विदेश मन्त्रालयद्वारा दिइएको जानाकारी अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि शिखर सम्मेलन स्थगित गरिएको हो । “महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला सङ्क्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत–अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका छन्,” भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारत–अफ्रिका मञ्च शिखर सम्मेलन मे २८ देखि ३१ सम्म नयाँ दिल्लीमा हुने तय भएको थियो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शुक्रबार सङ्क्रामक अत्यधिक इबोलाको प्रकोपको घोषणा गरिएको छ।
अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोलाका कारण १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १७ औँ पटकको इबोला प्रकोपबाट करिब ६०० जना सङ्क्रमित भएको र १३९ जनाको मृत्यु भएको आशङ्का गरिएको छ। दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबारदेखि कङ्गो, युगान्डा र दक्षिण सुडानबाट भारत आउने यात्रुहरूका लागि स्वास्थ्य परामर्श सेवा लिन थालेको छ ।








