शुक्रबार , भाद्र १२, २०८३

फागुन २१ को चुनावमा बालेन शाहको पक्षमा खुलेर बोल्दै आएका रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार बनेको डेढ महिनामै प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

दुई दिनअघि अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यशैलीको आलोचना गरेका सिंहले अहिले प्रधानमन्त्री शाहप्रति पनि असन्तुष्टि व्यक्त गरेका हुन् । हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रममा पत्रकार निमेष बन्जाडेसँग कुरा गर्दै उनले नेपाल ‘पाकिस्तानी मोडल’को अस्थिर प्रजातन्त्रतर्फ उन्मुख हुन सक्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री शाहले संसद्लाई कमजोर बनाउने शैली अपनाएको संकेत गर्दै सिंहले पाकिस्तानको उदाहरण दिएका हुन् । व्यापारीहरूलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गर्ने र केही समयमै छुटाइने प्रवृत्तिले देशमा असुरक्षा बढेको उनको भनाइ छ ।

‘नेपाल ‘पुलिस स्टेट’ होइन, लोकतान्त्रिक राज्य बन्नुपर्छ,’ उनले भने, ‘यस्तै अवस्था रहिरहे नेपालबाट अर्बौं रुपैयाँ बाहिरिने क्रम अझ बढ्छ ।’

नेपाल पनि पाकिस्तानजस्तै अस्थिर राजनीतिक अवस्थातर्फ जान लागेको हो ? भन्ने प्रश्नमा सिंहले अहिलेको परिस्थिति हेर्दा त्यो आशंका पूर्ण रूपमा अस्वीकार गर्न नसकिने बताए ।

उनले वर्तमान सरकारले पनि पूर्ण कार्यकाल पूरा गर्न कठिन हुने दाबी गरे । नेपालको इतिहासमा दुईतिहाइ वा बहुमतका सरकारहरू लामो समय टिक्न नसकेको उल्लेख गर्दै उनले सत्ता पाएपछि ‘मात लाग्ने’ प्रवृत्ति दोहोरिने गरेको बताए ।

सिंहले संविधान, कानुन र लोकतान्त्रिक परम्पराभित्र बसेर शासन सञ्चालन हुनुपर्नेमा जोड दिए । साथै उनले भारत र चीनसँग नेपालको सम्बन्ध पनि पछिल्लो समय कमजोर बनेको दाबी गरे ।

उनले मधेशको मुद्दालाई बेवास्ता गरिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । ‘मधेशले ठूलो भरोसा गरेको थियो, तर अहिले त्यसको पीडा कसैले बुझेन,’ उनले भने ।

सत्ता पाएपछि जे पनि गर्न पाइने मानसिकता गलत भएको उल्लेख गर्दै सिंहले देश सञ्चालनलाई काठमाडौं महानगरको शैलीमा चलाउन खोजिएको आरोप लगाए ।

उनले आफूलाई उद्योगमन्त्री बन्न प्रस्ताव आएको हल्ला पनि अस्वीकार गरे । इतिहासदेखि नै मधेशी नेताहरूलाई उद्योगमन्त्री बनाएर राजनीतिक रूपमा कमजोर पार्ने प्रयास हुने गरेको उनको दाबी थियो ।

सुकुमवासी बस्ती हटाउने सरकारी अभियानप्रति पनि उनले आपत्ति जनाए । ‘पहिले व्यवस्थापन गर्नुपर्छ, त्यसपछि मात्रै हटाउने कुरा आउँछ,’ उनले भने ।

अन्त्यमा सिंहले वर्तमान राजनीतिक अवस्था यस्तै रहने हो भने आगामी स्थानीय तह निर्वाचनसम्म संविधान नै सुरक्षित रहन्छ कि रहँदैन भन्ने चिन्ता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP