शनिबार , भाद्र १३, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः संसदमा विश्वासको मत लिने भएका छन् । काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगरेको र माओवादीले पनि सरकारबाट समर्थन फिर्ता नलिएकै अवस्थामा प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् ।

माओवादीले समर्थन फिर्ता नलिँदै प्रधानमन्त्री ओलीले किन विश्वासको मत लिन लागे त ? यो प्रश्न राजनीतिक वृत्तमा छाएको छ ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनासाथ प्रधानमन्त्री ओली आइतबार राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका थिए । प्रधानमन्त्रीले कतै लुम्बिनी प्रदेशसभा विघटन गराउन त लागेका हैनन् ? भन्ने प्रश्न सर्वत्र उब्जेको थियो । तर, त्यसको साटो पोखरेललाई तत्काल मुख्यमन्त्री नियुक्त गरियो ।

शीतलनिवासबाट बालुवाटारमा फर्केर क्याबिनेट बैठक राखेका प्रधानमन्त्री ओलीले एकाएक संसदबाट विश्वासको मत लिने घोषणा गरे । उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने र त्यो प्राप्त नभएमा फेरि संसद विघटन गरेर ६ महिनाभित्र चुनावको घोषणा गर्ने रणनीति बनाएको बुझिएको छ । बालुवाटार निकट स्रोत भन्छ, ‘देश मंसिरमा चुनाव हुने दिशातिर गयो ।’

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको पक्षमा बहुमत छैन । एमालेसँग १२१ सीट छ । त्यसमध्ये माधव नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गर्ने वा मतदान नगर्ने अवस्था छ । जसपाको सिंगो मत आफूतिर नआउने भएकाले प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने अवस्था छैन ।

प्रधानमन्त्रीले विश्वासको मत पाएनन् भने पनि विपक्षी गठबन्धनलाई सरकार बनाउने बहुमत पुर्याउनका लागि सिंगै जसपाको साथ आवश्यक पर्दछ । जसपाको एउटा घटकले ओलीलाई सघाउने र अर्को घटकले विपक्षीलाई सघाउने स्थिति रहँदासम्म कसैको पनि सरकार नबन्ने अवस्था आउन सक्छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा एमाले सांसदहरुले फ्लोर क्रस गर्ने÷नगर्ने प्रधानमन्त्री ओलीले जाँच गर्न पाउँछन् । त्यसपछि उनीहरुमाथि कारवाही भयो भने संसदको अंक गणित फेरिन सक्छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन् भने सरकार ढल्छ । तर, संविधानको अर्को प्रावधान अनुसार ठूलो दलले सरकारमा दाबी गर्न पाउँछ । त्यो अवस्थामा नेकपा एमाले नै संसदको सबै भन्दा ठूलो दलका रुपमा कायम रहनेछ ।

प्रधानमन्त्री ओलीले यसअघि नै भन्दै आएका छन्, संसदको गणित आफ्नो पक्षमा पार्न प्रयास गर्ने, नभएर फेरि पनि ताजा जनादेशमा जाने ।

विश्लेषक भन्छन्, ओलीको नियत ठिक छैन

बाम विश्लेषक हरि रोका प्रधानमन्त्री केपी शर्मा ओलीले आखिरी समयमा विश्वासको मत लिन खोज्नुले उनको नियतमा शंका गर्ने ठाउँ प्रशस्त रहेको बताए । ‘ओलीमाथि केही कुराको विश्वास गर्न सकिदैन’,रोकाले रातोपाटीसँग भने, ‘यदि प्रधानमन्त्री ओलीले सहि नियतले विश्वासको मत लिन खोजेको भए बैशाख २७ अघि नै समय तोक्न सक्थे ।’

संविधान त जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ । यस्तो अवस्थामा ओलीले विश्वासको मत पाए उनकै सरकारले निरन्तरता पाउँछ, नत्र अर्को सरकार बन्नुपर्ने अवस्थामा त्यो सरकार बन्न नदिन ओलीले यस्तो समय छानेको रोकाको विश्लेषण छ ।

‘तर ओलीको सरकारले विश्वासको मत पाएन भने नयाँ बन्ने सरकारलाई अप्ठेरो पार्छ । किनभने विश्वासको मत फेल भयो भने अर्को सरकार बन्न समय लाग्छ । त्यसमा पनि लार्जेस्ट पार्टीको कुरा हुने होला, अर्कोतिर लुम्बिनीमा जस्तै अर्कोतिर बहुमत पुग्यो भने के गर्ने त्यसमा पनि समस्या आउला । त्यसैले ओलीले देशलाई धरौटीमा राख्ने काम भइरहेको छ’, रोकाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP