डार्विन, अप्रिल २०२६ — NRNA NT ले समुदायका सदस्यहरूलाई जीवनरक्षक सीप प्रदान गर्ने उद्देश्यसहित फर्स्ट एड(First Aid) तथा सिपिआर (CPR) तालिम कार्यशाला आयोजना गर्ने भएको छ।
उक्त तालिम शनिबार, २ मे २०२६ का दिन बिहान ९:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म TCASS Activity Hub, बेरिमाह मा सञ्चालन हुनेछ। तालिममार्फत सहभागीहरूले HLTAID011 – Provide First Aid (CPR सहित) राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणपत्र हासिल गर्नेछन्, जुन अष्ट्रेलियाभर मान्य हुनेछ।
कार्यक्रम Church of Scientology Community Volunteer Program सँगको सहकार्यमा आयोजना गरिएको हो भने तालिम Results First Aid Training द्वारा प्रदान गरिनेछ। सामान्यतया करिब १५० डलर लाग्ने यस तालिमलाई समुदायमैत्री बनाउन केवल १० डलर शुल्कमा उपलब्ध गराइएको छ।
आयोजकका अनुसार, सबै सहभागीहरूले तालिमअघि अनिवार्य अनलाइन सैद्धान्तिक अध्ययन पूरा गर्नुपर्नेछ। अनलाइन कोर्स पूरा नगर्ने सहभागीहरूले प्रमाणपत्र प्राप्त गर्न नसक्ने जनाइएको छ। साथै, तालिमका क्रममा भुइँमा राखिएको म्यानिकिनमा सिपिआर अभ्यास गर्नुपर्नेछ।
कार्यक्रम स्थल Territory Care & Support Services (TCASS) ले निःशुल्क उपलब्ध गराएकोमा आयोजकले धन्यवाद व्यक्त गरेका छन्।
एनआरएनए एनटीका अध्यक्ष Trilochan Sapkota ले यस कार्यक्रमले समुदायलाई अझ सुरक्षित र सक्षम बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
“यो तालिम केवल प्रमाणपत्रका लागि मात्र होइन, आपतकालीन अवस्थामा जीवन बचाउन सक्ने महत्वपूर्ण सीप सिकाउने अवसर हो। हामी सबै मिलेर सुरक्षित र सचेत समुदाय निर्माण गर्न सक्छौँ,” उनले भने।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत भुक्तानी तथा व्यक्तिगत रूपमा दर्ता गर्नुपर्नेछ। दर्तापछि सहभागीहरूले ‘Booking Confirmation’ शीर्षकको इमेलमार्फत अनलाइन अध्ययन सामग्री प्राप्त गर्नेछन्।
एनआरएनए एनटीले सबै समुदायका सदस्यहरूलाई यस महत्वपूर्ण तालिममा सहभागी भई सुरक्षित समाज निर्माणमा योगदान दिन आग्रह गरेको छ।








